नुनको सोझो गर्दैछ
खटाए पठाए अनुरुप
आदेशको पालना गरिरहेको छ
महानगरको सिपाही
हत्तपत्त सबेरै
दुई गाँस खाए नखाए गरेर
उर्दी अनुसारको बर्दी लगाउँदै
कर्तव्यपालनमा निस्कन्छ
अबेर राति फर्कन्छ
जुत्ता पालिस गर्ने
पालिस, जुत्ता उठायो
स-साना ब्यापारीको बिचल्ली भयो,
मकै पोलेर गुजारा गरिरहेकि
बहिनीको डोको मकै
लैजान बाध्य छ
महानगरको सिपाही
नखाउँ दिनभरको शिकार
खाउँ कान्छा बाबुको अनुहार भएको छ
महानगरको जागीर
कार्यक्षेत्रमा
निर्मम भएर उपस्थित हुन्छ
निरीह भएर फर्कन्छ
महानगरको सिपाही
सान, मान, रवाफ छ
जिम्मेवारी बहन गर्न
आज्ञाकारी भएर खटिएको हुन्छ
उर्दी अनुसार हाजिर भएको छ
निर्मम रूपमा प्रस्तुत हुन्छ
तर दिक्क छ
महानगरको सिपाही
हो ! उ सिपाही हो
इमानदार छ
निष्ठापूर्वक लागेको छ
महानगरका सबै नागरिकलाई
आफू जस्तै भएको हेर्न चाहान्छ
दाइले सडक मिचेको पाउँछ
भाइले फोहोर गरेको देख्छ
भाउजुको स्कुटी
नो पार्किङमा पाउँछ
भतिजोले दादागिरी गर्दै हप्ता उठाएको देख्छ
जिम्मेवारीको लठ्ठी उठाउँछ
आँखा चिम्लेर प्रहार गर्छ
महानगरको सिपाही
कर्तव्यपालनको शिलशिलामा
सिनो सोहोर्यो
फोहर उठायो
फुटपाथ पसल हटायो
गर्दैजाँदा मरेको मानिस देख्यो
जिउँदोसंग त डर थिएन
मरेको मानिससंग डरायो
उ आफैँ कैयौं पटक मरिसकेको छ
हुन त हो महानगरको सिपाही हो
सुट, बुट पनि नगरले दिएको छ
ग्लानी छ
केही गर्न सकेन
कुकुर पनि हाकिम छन्
आज्ञा शिरोपर गर्दै
हुन्छ सर भन्छ
महानगरको सिपाही
ऐंठन, उमर्कोले बर्बराउँछ
लखेटेको देख्छ
सिपाही, सिपाही भन्दै
सयौँ मानिस उतिरै दौडिरहेको देख्छ
बचाउ, बचाउ भन्दै चिच्याउछ
बिउंझन्छ एक्लै हुन्छ
डरले थरथर हुन्छ
महानगरको सिपाही !!!
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा