गीत

शहरका बफे पार्टीहरूमा
डिस्कोलाइट र तिखो संगीतबीच
न्यानो स्वागत र सत्कार पाइन्छ-
लन्च र डिनरका अनेकौं परिकार
टक्क स्वादको मीठो अचार
तातो पेय, चिसो पेय
सलाद, डिजर्ट, ह्विस्की, वियर
सद्भावपूर्ण सम्बोधन
र आदरपूर्ण आतिथ्यता…..
घर अर्थात्
बन्देजको सांगुरो रेखाभन्दा बाहिर
आनन्द छ, मस्ती छ
छनोटको खुला स्वतन्त्रता छ,
तर त्यस मुक्त परिवेशभित्र
एउटा अनौठो बन्धन पनि छ-
खुलापनको डोरीले
स्वतन्त्रताको पखेटा बाँधिएजस्तो,
एक खालको सकस महसुस हुन्छ
घरमा भने-
छिन् श्रीमती,
कर गर्दै खाना थपिरहने,
“यो खाऊ, त्यो नखाऊ” भन्दै
आदेशका ओैँलाले,
बन्देजका पर्खालहरू ठडाइरहने
कुन खानाले कुन रोग ल्याउँछ
कुन खानाले कुन रोगलाई फाइदा गर्छ
पानी कति पिउने, कति बेला पिउने
कुन खानासँग के खान मिल्छ
के मिल्दैन
अमिलो, पीरो, चिसो, तातो-
तुलसीपत्ता कि निमपत्ता
बेसार पानी, कि नून पानी
साँझ र बिहानको छुट्टै नियम
कडा शिक्षकको कक्षाझैँ
समय समयमा
निर्देशन र आचारसंहिता जारी हुन्छ
जसको स्वर कहिलेकाहीँ त
आर्मी अफिसरको भन्दा पनि चर्को लाग्छ
तर पनि-
घर अनौपचारिक हुन्छ,
सहज हुन्छ।
घर भनेको केवल भौतिक वस्तु होइन,
आत्मियता पनि हो ।
एक जिम्मेवारी,
एउटा अटूट भरोसा,
एउटा आत्म–अनुशासन
उनको प्रत्येक निषेधले
प्रतिबन्धकोे सीमा मेटाएझैँ लाग्छ
उनको हरेक कचकचमा
म मिठो मेलोडी महसुस गर्छु
घरको कठोर सीमाभित्र-
बन्धनहरू फिक्का लाग्छन्
र सबै खाले ऐठनहरू
आत्मियताको आलोकमा हराउँछन् ।
दीपक चौलागाइँ