• २०८२ आश्विन २८, मंगलवार

बाबुरामको ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ नयाँ गीत सार्वजनिक

काठमाडौँ ।

कवि तथा गीतकार बाबुराम श्रेष्ठ यात्रीले नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ सार्वजनिक गर्नुभएको छ । गीतले दार्शनिक कोणबाट आत्मपहिचानको खोज, जीवनको कठोर यथार्थ, र आशा–निराशाबीचको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गर्नुभएको छ ।

गीतकार यात्रीले जीवनको यथार्थलाई यति निपुणतापूर्वक चित्रण गर्नुभएको छ कि, निरन्तर संघर्षका बीच पनि जीवनमा केही प्राप्त गर्ने आशाको झिल्को देख्न सकिन्छ । यथार्थपरक र दार्शनिक भावनाले भरिपूर्ण यस गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको संगीत, रामकृष्ण ढकालको स्वर र फनिन्द्र राईको एरेन्ज रहेको छ । गीतको रेकर्डिङ पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङले गर्नुभएको हो भने मिक्सिङ सुमन खड्काले गर्नुभएको छ । थम्बनेल अनिल स्थपितले बनाउनुभएको छ ।

यसअघि ‘जीवन’, ‘तिम्रो मीठो मुस्कान’, ‘तमासाको खेल’ र ‘माया कहिल्यै मर्दैन’ जस्ता लोकप्रिय गीतहरू दर्शक–श्रोतामाझ पस्किइसक्नुभएका यात्रीको यो नयाँ गीत ‘गायक रामकृष्ण ढकाल’ को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको मार्मिक शब्द र सुमधुर संगीतले श्रोताहरूको मन छुने विश्वास लिइएको छ ।