• २०८२ आश्विन ८, बुधबार

घनश्याम खड्काको ‘आनन्द संहिता’माथि शनिबार भरतपुरमा अन्तरक्रिया सम्पन्न

चितवन ।

मानिसले जीवनमा के चाहन्छ ? यो प्रश्नको उत्तर खोज्दै मानवले पाउने खुसी र आनन्दका विधिका बारेमा लेखिएको दर्शनमा आधारित पुस्तक ‘आनन्द संहिता’ माथि भरतपुरमा अन्तरक्रिया सम्पन्न भएको छ । कान्तिपुरका पत्रकार घनश्याम खड्काले लेखेको ‘आनन्द संहिता’को बारेमा चित्तौन कचहरीले विमर्श कार्यक्रम आयोजना गरेको थियो ।

किताबमाथि केन्द्रित रहेर आचार्य लक्ष्मण भण्डारीले आफ्ना कुरा राख्दै भने, ‘आनन्दको नियम र सूत्रहरूको संग्रह यो पुस्तक हो । किताबका धेरै वाक्य भित्तामा लेखेर राख्नु पर्ने सुक्तिमय खालका छन् । मनलाई विकारमुक्त बनाउन ध्यानको महत्त्व छ । ध्यानको विधि र अभ्यास नै यस पुस्तकमा रहेका कारण यो हिसाबले पनि पुस्तक गहन छ ।’ आनन्दको स्रोत व्यक्ति आफैं भएको र त्यसलाई प्राप्त गर्ने विधि ‘आनन्द संहिता’मा रहेको भण्डारीले बताए । ‘आनन्दलाई छोप्ने प्रवृतिके हुन् त्यसमाथि प्रकाश पार्ने काम पुस्तकले गर्दछ । व्यक्तिलाई उत्प्रेरित गर्ने निबन्ध यसमा छन्,’ भण्डारीको भनाइ थियो । केही भाषिक र व्याकरणीय  त्रुटि रहेको हुँदा आउँदो संस्करणमा त्यसलाई सच्याउने सुझाव उनले दिए ।

त्यस्तै सरिता तिवारीले पुस्तकका बारेमा लेखक खड्का र वाग्मती प्रदेशका पूर्वसांसद एवं पूर्वमन्त्री विजय सुवेदी र युवा कृषि उद्यमी सुजता देवकोटासँग संवाद गरिन् । राजनैतिककर्मी सुवेदी बुद्ध दर्शनका विद्यार्थी पनि हुन् । सुवेदीले यो पुस्तक असल जीवनका लागि मार्गदर्शक बन्ने बताए । पीडा र दुस्ख के हो ? सुख के हो र जीवनको महत्त्व के हो ? यी विषय पुस्तकमा व्यवस्थित तरिकाले समेटिएको उनले सुनाए ।

युवा कृषि उद्यमी सुजता देवकोटाले आफू पुस्तक पढ्न सधैँ रुचि राख्ने र सकारात्मक भाव दिने पुस्तक आफ्नो रोजाइमा पर्ने बताइन् । ‘मैले सिद्धार्थ पुस्तक पढेलगत्तै आनन्द संहिता पढ्ने अवसर पाएँ । नेपाली समाजलाई अहिले जुन खालको उत्प्रेरणा आवश्यक छ त्यो विषय पुस्तकमा रहेछ । मलाई पुस्तक पढ्दा आनन्द आयो । यहाँ दर्शन छ र उदाहरण दिएर त्यसलाई प्रष्ट पार्न खोजिएको छ । ती उदाहरणहरुले उत्प्रेरित गर्दछ,’ सुजताले भनिन् ।

समाज र विश्व परिवेशका सकारात्मक विषयहरुलाई संग्रह गर्नु पर्दछ र त्यसलाई जनमानसमा र्पुयाउनु पर्दछ भन्ने सोचले किताब लेखेको लेखक घनश्याम खड्काको भनाइ थियो । ‘लामो समयदेखि पत्रकारिता गर्दै गर्दा समाजका राम्रा कुरालाई पनि संग्रह गरौं भन्ने लाग्यो । समाचारले मान्छेलाई दिने सूचनाले सकारात्मक भाव मात्रै उत्पन्न गराउँछ भन्ने हुँदैन । त्यो अभावलाई पुस्तकबाट पूरा गर्ने प्रयास हो,’ खड्काले भने ।