समाचार
काठमाडौँ ।
किरण आचार्यद्वारा लिखित ‘जरत्कारू’ उपन्यासमाथि एक विशेष कार्यक्रमका बीच परिचर्चा गरियो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख व्यक्तित्व भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी रहेका थिए ।
त्यसैगरी,अन्य विशिष्ट व्यक्तित्वहरूमा समालोचकद्वय प्रमोद प्रधान तथा प्रा. डा. गोविन्दमान सिंह कार्की, आख्यानकार नयनराज पाण्डे, उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा पत्रकार एवम् लेखक राजकुमार बानियाँ लगायतको उपस्थिति रहेको थियो । प्रमुख व्यक्तित्व डा. लवदेव अवस्थीले जरत्कारू उपन्यास पूर्वीय दर्शनमा आधारित भएको र पौराणिक पात्र र कथासँग सम्बन्धित रहेकोले यसको विशेष महत्त्व रहेको बताए ।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष लेकालीले उपन्यासकार किरण आचार्यको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।साथै, उनले किरण आचार्यबाट अरू थप पौराणिक कृतिहरू जन्मिने अपेक्षा गरेको बताए । कार्यक्रममा पौराणिक पात्र जरत्कारूका बारेमा उपन्यासका भूमिका लेखक समेत रहेका समालोचक प्रमोद प्रधान तथा आख्यानकार नयनराज पाण्डेले संक्षेपमा समालोचकीय टिप्पणी गरेका थिए ।
उपन्यासकार किरण आचार्यले उपन्यास लेखन यात्राबारे बोल्दै कोभिडको महामारीको बेला तथा डक डाउनको अवस्थामा उक्त उपन्यास लेखिएको बताइन् । साथै, उनले यस अघिका पौराणिक उपन्यासहरू अहल्या तथा परशुरामका बारेमा समेत संक्षेपमा प्रकाश पारेकी थिइन् । उपन्यासकार किरण आचार्य नेपालगन्जमा बसेर साहित्यको साधना गर्दै आएकी छिन् ।
कार्यक्रममा प्रा. डा. गोविन्दमान सिंह कार्की, राजकुमार बानियाँ तथा शंकर भारतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यिक पत्रकार सङ्घको तर्फबाट नेपाल लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीलाई स्वागत गर्दै बधाई दिइएको थियो । अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन सुभाषचन्द्र पौडे ‘भीमफेदीया’ ले गरेका थिए ।
