• २०८२ आश्विन २८, मंगलवार

सम्झिरहेको छु

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेल

तिमीले भनेको सम्झिरहेको छु
एउटै कुरा भन्थ्यौ- प्रेम गर !

जब तिमी बोल्थ्यौ
पटकपटक दोर्होयाउँथ्यौ
प्रेमसँग मात्र
कठोर मन र
अटेरी शासक
डराउँछन्
कठोर मनलाई पगाल्छु
र अटेरीलाई गलाउँछु भन्नेले
प्रेम गर्ने आँट गर्नुपर्छ
र प्रेम गर्छु भन्नेसँग
दह्रो मुटु हुनुपर्छ !

र तिमी नै थप्थ्यौ
मुटु नहुनेले दुइटा कुरा नगर्नु
एउटा प्रेम, अर्को राजनीति !
प्रेम र राजनीति
आराम गर्नको लागि
बनाइएका फलैँचा हैनन्
यी त निरन्तर
लडिरहनु पर्ने युद्ध हुन्
जसले कि मनलाई हराउँछन्
कि मनलाई जिताउँछन्

युद्धमा !
मन नै हार्यो भने
हार्नलाई के पो बाँकी रहन्छ र ?
युद्धमा मनले जित्यो भने
जित्नलाई पनि के नै पो बाँकी रहन्छ र ?

र थप्थ्यौ-
प्रेममा रात पनि पर्छ
त्यस्तो बेलामा
प्रेमलाई नै बत्ती बनाएर
जलाउन तयार हुनुपर्छ
अँध्यारो रातलाई उज्ज्यालो बनाउन !

तिमीले भनेको बिर्सिएको छैन
भनिरहन्थ्यौ- प्रेम गर !

मैले त गरिरहेको छु
प्रेम गर्नलाई
प्रेम गरिएको मान्छे
आँखै अगाडि हुनुपर्छ र ?
तर तिमीचाहिँ कता हरायौ ?
मन दुखाउनलाई मात्र भए पनि
कहिलेकाहीँ आउदै गर न
मन दुखिरह्यो भने
प्रेम पनि आलो नै बसिरहन्छ नि !

र आएको बेला
एउटा कुरा सोध्न मन छ तिमीलाई
रात बितेर जाने बित्तिक्कै
बत्ती त निभिहाल्दोरहेछ
त्यस्तो बेलामा आफै जल्नुपर्छ हो ?
प्रेम र राजनीतिमा
दिउँसो पनि बत्ती बाल्नुपर्छ हो ?


बालकृष्ण कट्टेल