• २०८१ असोज २४ बिहीबार

इतिहासकार सुब्बाको ‘याक्थुङ सिभिलाइजेसन’ सार्वजनिक

सुनसरी ।

सिक्किमकी इतिहासकार सन्ध्या सुब्बा सिङ्जाङ्गोको याक्थुङ (लिम्बू) सभ्यताबारे अंग्रेजी भाषामा ‘याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङथाङ्वा पुम्मा’ (याक्थुङ सभ्यता) पुस्तक सार्वजनिक भएको छ । आफ्नो पछिल्लो पुस्तक ‘याक्थुङ सिभिलाइजेन’ लिएर अन्तक्रियामा सहभागी हुन धरान आएकी सन्ध्याले यसअघि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) द्वारा संकलित चइत मुन्धुम र मुजिङ्ना खेयोङ मुन्धुमको अंग्रेजी अनुवाद गरिसकेकी छन् ।

दिल्लीको लेडी श्रीराम कलेज र दिल्ली विश्वविद्यालयमा इतिहास विधा अन्तर्गत दुई विषयमा स्नातकोत्तर गरेकी सन्ध्याले भनिन्, ‘विश्वविद्यालयमा अरुको सभ्यताको इतिहास पढें तर आफ्नो समुदायको सभ्यताबारे कतै उल्लेख नभएपछि जरा पत्ता लगाउन मुन्धुमलाई आधार बनाएर यो नयाँ पुस्तक तयार गरें ।’

विश्वविद्यालयमा रोमिला थापर, डिएन झा, सिमा अलवी जस्ता प्रेरणादायी भारतीय प्रसिद्ध इतिहासकारहरुको विद्यार्थीको रुपमा उनले याक्थुङ सभ्यताको निर्माण, क्रमागत विकासका खोजी, अनुसन्धान र लेखनमा बल पुगेको बताइन् । उनले भनिन्, ‘मेरो अध्ययन अनुसार याक्थुङ सभ्यता मेसोपोटामिया सभ्यताभन्दा अगाडि जान सक्ने देखेको छु । हामीले पढेका विश्वका सभ्यताहरु विकसित अवस्थाको रुपरेखामा पाएका छौं भने याक्थुङ सभ्यतामा कृषि युगको क्रमागत विकासको कुराहरु पाइएका छन् ।’ उनले वैज्ञानिक तथ्यको आधारमा खोज अनुसन्धान गरेर इतिहासलाई विश्वनीय बनाउन सकिने तर अलौकिक कथा मात्रले इतिहास नहुने पनि बताइन् ।

पुस्तकबारे बोल्दै इतिहासकार सन्ध्याले याक्थुङ सभ्यता (इम्बिरी याङ्धावा) पनि ताप्लेजुङको तमोर र काभेली नदी र कन्चनजङ्घा हिमाल सेरोफोरमा विकास भएको पाइएको बताइन् । ‘एउटा सभ्यता निर्माण हुनलाई प्राकृतिक सहजता, भाषा, लिपि, कला संस्कृति, परिवार र समाज हुनुपर्छ । ती कुराहरु याक्थुङ सभ्यतामा पनि प्रसस्त पाइन्छन् । तर अझै ऐतिहासिक, पूरातात्विक खोज अनुसन्धान हुनुपर्छ ।’

उनले याक्थुङ सभ्यता पुस्तकमा प्राचिन तुम्याहाङ प्रणाली, भूस्वामित्व, सिलाम साक्मा, याक्थुङ साम्लो (संगीत), थाका (ढाका) तान बुन्ने कला, खाम्जी खाम्बोङसा लुङ्जिरि लुङबोङ्सा, सिरिजंगा लिपि लगायतका विषय समेटेकी छन् । पुस्तकमाथि धरानमा युमा साम्यो महासभाद्वारा शुक्रबार आयोजित अन्तक्रियामा मुन्धुमी इतिहासकार अर्जुनबाबु माबुहाङ, डा. रमेश इजम, अमित थेवे, हितराम तिल्लिङ, विरान लिम्बुलगायतले टिप्पणी गरेका थिए ।