निबन्ध

काठमाडौं ।
‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’ द्वारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन् । नेपाल स्रष्टा समाजद्वारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे ।
नगद २० हजार एक सय एघार नगद राशी,सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मान लोकगीत सर्जक, गायिका पाल्पा, रामपुर निवासी तिवारीलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले “आमाप्रति माया र सम्मानभाव प्रकट गरेर आमाको जन्मदिनकै दिन सम्मान समर्पण गर्ने व्यवस्था मिलाउने पुष्पा खनाल धन्यवादको पात्र हुन् ।” उनले अगाडि भनिन् “गाउँघरमा भएका दिदीबहिनीहरु पनि प्रतिभावान हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण लक्ष्मी तिवारी हुन् ।”
समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुबैलाई धन्यवाद दिए । यसअघि पुरस्कृत व्यक्तित्व तिवारी आमाको व्यक्तित्वबारे डा. शान्तिमाया गिरिले प्रकाश पार्दै पाल्पा रामपुर निवासी लक्ष्मी तिवारी तिवारी आमाको नाउँले प्रख्यात भएकी बताइन् । डा. गिरिले समाजका विकृति र विसंगतिमाथि सिलोक, तीज गीत, रोइला रत्यौली गीतको माध्यमबाट पस्कने गरेको बताइन् । विद्यालयमा जम्मा दुई कक्षामात्र पढेकी तिवारी नाँच्न पनि उत्तिकै निपूर्ण रहेको पनि जानकारी दिइन् । “तिवारी मौलिक लोकगीत गायन र सृजनामा सक्रिय छिन् । सामान्य लेखपढ गरेकी भए पनि समाजका विकृति र विसंगति विरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरुलाई गीत, कविता तथा सिलोक मार्फत प्रस्तुत गर्ने गर्दछिन् । तीज गीतहरुमा परदेशिएका नेपालीका पीडाहरु उनले उजागर गरेकी छिन् ।”
पुरस्कृत स्रष्टा तिवारीले उतिबेला छोरीले पढ्नु हुन्न भन्ने मान्यताले गर्दा पढ्न नपाएको बताइन् । उनले राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाइन् । उतिबेलाको छोरीको पीडा पनि गीतमा प्रस्तुत गरिन् । रामपुरको महिमा झल्कने सिलोक पनि सुनाइन् । कार्यक्रममा अध्यक्षता गरेका समाजका अध्यक्ष रोदनले जहिल्यै राजधानीका मात्र स्रष्टाहरु सम्मानित र पुरस्कृत हुन्छन् भन्ने आम सोचाईलाई नेपाल स्रष्टा समाजले तोडेको बताए । उनले भने “नेपाल स्रष्टा समाज काठमाडौंमा मात्र सिमित छैन । यसको ज्वलन्त उदाहरण आजको सम्मान हो ।” उनले पुरस्कार स्थापना गर्ने पुष्पा खनालप्रति आभार व्यक्त गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई दिए ।
रञ्जना निरौलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य व्यक्त गरे । कवि तथा गीतकार पुष्पा खनालले वि. सं. २०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गरेकी हुन् ।