• २०८२ भाद्र २८, शनिबार

श्यामप्रसाद श्रेष्ठको कथासङ्ग्रह ‘कठै’ सार्वजनिक

काठमाडौंँ ।

कथाकार श्यामप्रसाद श्रेष्ठको कथासङ्ग्रह ‘कठै’ सार्वजनिक भएको छ । सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न समारोहमा कथाकार मधुवन पौडेलले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । लोकार्पणपछि बोल्दै पौडेलले नेपाली साहित्यमा दुःख, पीडा र मानवीय संवेदनालाई केन्द्रमा राखेर लेखिएका कृतिहरू प्रशस्तै रहेको उल्लेख गर्दै ‘कठै’ मा पनि यिनै विषयवस्तुलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।

पुस्तक समीक्षात्मक प्रस्तुति गर्दै डा. भरतकुमार भट्टराईले कथाकार श्रेष्ठका कथामा राजनीतिक विसङ्गति, कोरोना महामारीको प्रभाव र प्रेमको भावुकतालाई सशक्त रूपमा चित्रण गरिएको उल्लेख गर्नुभयो। उहाँले कथाकारको लेखन शैली र विषयवस्तुको चयनलाई प्रशंसा गर्दै कृतिको साहित्यिक महत्वमाथि प्रकाश पार्नुभयो ।

‘कठै’ का स्रष्टा श्रेष्ठले चालीसको दशकमा लेखिएका यी कथाहरू विभिन्न कारणले लामो समयसम्म प्रकाशन हुन नसकेको बताउँदै अन्ततः प्रकाशित हुन पाउँदा आनन्दित भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो लेखन यात्रा र यस कृतिमा समावेश कथाहरूको सन्दर्भमा आफ्नो अनुभव सुनाउँदै भावुक बन्नुभयो ।

सिर्जना अभियान समाजका सचिव तथा कथाकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र लघुकथाकार शेखरकुमार श्रेष्ठले स्रष्टालाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा स्रष्टा किशन पौडेलले कथाकार श्रेष्ठको परिचय दिनुभएको थियो भने ध्रुवराज थापाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

सिर्जना अभियान समाजबाट प्रकाशित ‘कठै’ मा विभिन्न विषयवस्तु समेटिएका १३ वटा कथाहरू समावेश छन् । यस कृतिले नेपाली साहित्यमा थप एउटा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास लिइएको छ ।