• २०८२ बैशाख ७ आइतबार

नयाँ वर्ष

भूपी शेरचन

भूपी शेरचन

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिंडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङ्गुर हल्लिरहेछ उसको
पदचापले
टवाक्….। टवाक्……। टवाक् ………..। टवाक्……..।

निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको बादलको गड्याङ–गुडुङ
आकाशलाई पखालो लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ,
सहनाईको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्याह्न दिन
चर्को घाम
सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्ष आएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ
फेरि एकचोटि
सँगी साथीहरुको सूची बनाउनु छ
फेरी एकचोटी
भयानक बमहरु बोकेर, उडिरहेका हवाईजहाज
र रकेटहरुमुनि बसेर
लेख्नु छ प्रियजनहरुको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।


भूपी शेरचन