काठमाडौँ ।
‘गणेशकवि श्यामदास वैष्णव’ जीवनीकृति सार्वजनिक भएको छ । नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको श्यामदास वैष्णवको शतवार्षिकी समारोहको अवसर पारेर नरेन्द्रराज प्रसाईद्वारा लिखित उक्त कृति शुक्रबार सार्वजनिक गरिएको हो ।
प्रमुख अतिथि लोकमानसिंह कार्की लगायत नीर शाह र शंकर गिरीले सार्वजनिक गरेको उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्तावेजलाई सक्षेपमा प्रस्तुत गरिएको छ । समारोहका प्रमुख वक्ता शाहले श्यामदास वैष्णवका जीवनका विविध पक्षमाथि प्रकाश पारेका थिए ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवनी र कृतिका बारेमा मन्तव्य राखेका थिए । ‘गणेशकवि श्यामदास वैष्णव’ जीवनी कृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ ।