गीत

म जे गरिरहेको छु-
चुपचाप हेरिरहनु,
मौन बसेर समर्थन जनाउनु,
राती अबेर घर फर्कँदा
मूल ढोका बेस्सरी ढकढक्याउँदा
निशब्द ढोका खोलिदिनु,
वा केही नभनी
लुसुक्क खाना पस्किदिनु,
अझ मुसुक्क हाँसेर टारिदिनु-
मलाई यो साँच्चै प्रेम जस्तो लाग्दैन
‘म तिमीलाई प्रेम गर्छुू भनेर
पटक- पटक प्रमाण दिन खोज्नु,
तिमी मलाई कति माया गर्छौ ?‘ भनेर
बारम्बार उत्तर खोज्नु-
यो पनि प्रेम होइन,
व्यापार हो, लेनदेनको करारनामा
एकजना अंग्रेज मनोचिकित्सक
जुन मेरी साथी थिइन्,
एकदिन,
उनीले मसंग अचानक सोधिन्-
श्रीमतीसंग तपाईंको झगडा हुन्छ?
मैले हाँस्दै भनेँ-
कहिलेकाहीँ हुन्छ ।
उनी एक्कासी गम्भीर भइन्,
आँखामा उदासीको बादल मडारियो-
यस मानेमा म अभागी छु ।
मेरो श्रीमान्
कहिल्यै मसंग रिसाउनु हुन्न,
कहिल्यै मलाई गाली गर्नु हुन्न ।
मेरो जीवन-
नुन नपुगेको तरकारीजस्तो,
जसलाई खाँदा जिब्रो पनि लाटो हुन्छ ।
उनका ती शब्दले,
मेरो भित्री आँखा खुल्यो ।
त्यस दिन सोचें-
प्रेमको घरमा
कहिलेकाहीँ कम्पन हुनुपर्छ
मसानजस्तो शून्यताभन्दा त
हल्का हलचल,
एक सर्को बतास चल्नुपर्छ,
जसले
प्रेममा जमेको धुलो उडाइ देओस्
जुन पुराना गुनासा थिए
ती सबै बगाइ देओस्,
तब मात्र प्रेमले नयाँ आयाम पाउँछ ।
प्रेम जिउँदो हुन
हृदय धड्कनै पर्छ ।
यदि प्रेमको प्राङ्गणमा
सधैं मौनताको बास हुन्छ भने,
प्रेमको मोहल्लामा
कहिल्यै होहल्लाको धुन सुनिँदैन भने,
कोलाहलको घण्टी गुन्जिँदैन भने-
त्यसको अर्थ,
प्रेमको अवसान भइसकेको छ ।
यदि कहिल्यै मेरो गल्तीले
तिमीलाई चोट र्पुयाएँ भने,
तिमी मौन नबस्नु-
बरु मलाई झकझक्याउनु,
मौनता प्रेम होइन,
बढिरहेको दूरी हो ।
मेरो गल्तीमा मलाई टोकस्दै,
रुँदै, कराउँदै,
आँसुसँगै भावना पोख्दै,
आवेश पखाल्दै,
मन मस्काउँदै,
अलिअलि ठुस्किँदै-
अन्ततः माफी बक्सदै
मलाई अँगालोमा बाँध्छ्यौ भने-
त्यही नै हो साँचो प्रेम ।
प्रेम सधैं एकनास हुँदैन ।
कहिलेकाहीँ तुफान बन्छ,
बतास बन्छ, झरी बन्छ-
तर त्यसैमा जीवन्तता छ,
स्पन्दन छ,
र छ- नित्य नवीनता ।
दीपक चौलागाईं