• २०८१ भाद्र २४ सोमबार

तुलसी घिमिरे

राजेन्द्र शलभ

राजेन्द्र शलभ

कालिम्पोङमा जन्मिएँ
त्यहीँको स्कूलमा पढेँ
कलेज पनि त्यहीँ गरियो ।
पहिलो जागिरका लागि सिक्किम पुगेँ
‘रोमियो इन सिक्किम’ को शुटिङ हुँदैरहेछ
स्कूल पढ्दादेखि नै
फिल्मको रस पसेको थियो
ठूलो भएर हिरो बन्छु, सोच्थेँ
त्यहाँ सुटिङ युनिटसँग नजिक भएँ
लालजी यादव- नाम याद छ मलाई
उनले केही ठाडो तर यथार्थ कुरा गरे
फिल्मका लागि कत्तिको पागल छस् ?
मेरो बहुलठ्ठीपन देखेर फोन नं दिए
अनि भने “पाँच सौ से ज्यादा मत लाना,
सोने के लिए रेल्वे प्लेटफर्म है
खाने के लिए लंगर है
बस ! फनाह होने आजा ।”

लालजीले भने जस्तै
पाँचसय रूपियाँ लिएर म बम्बई हिडेँ
६२ रूपियाँ त भाडा नै लाग्यो
त्यहाँ पुगेर तिनलाई फोन गरें
सानो ‘चाल’मा सुत्ने बन्दोबस्त मिलाइदिए
र शुरू भो मेरो ‘फिल्मी संघर्ष यात्रा’
फिल्म अफिसहरू धाउँदा पैसा सकिन लाग्यो
काम खोज्ने क्रममा बहादुर भन्ने
स्पट व्वायलाई भेटें
र आगा खानको मेकअप एसिस्टेन्ट बनें
१५ रू दैनिक आम्दानी हुन थाल्यो
त्यहाँ हेपेको कारणले काम छोडें
त्यसपछि ‘लाइट व्वाय’ बनेँ
फाइटको एक्सट्रा भएँ
केमेराको ‘क्यारेक्टर’ बनेँ
बाँच्नका लागि यी सबै काम गरेँ
तर नजानिदों तरीकाले फिल्म सिक्दै गएँ
यही क्रममा एकदिन ‘एडिटिङ रूम’मा पुगेँ
एपरेन्टिसबाट एसिस्टेन्ट एडिटर
र पछि एडिटर नै पो बनेँ
मैले ‘श्रद्धाञ्जली’ एडिट गरेपछि
गुरूले भने जा १० वटा फिल्म
आफ्नै भाषामा गरेर आइजा
त्यही नै तेरो गुरूदक्षिणा हुनेछ ।

गुरूको आज्ञा अनुसार म फर्किएँ
र पहिलो फिल्म बनाएँ ‘बाँसुरी’
फिल्मले खर्च उठायो
त्यसपछि बनाइंयो ‘कुसुमे रूमाल’
भारतमा बनेको त्यस फिल्मलाई
उद्धव पौडेलले ५०% कर फिर्ता लिन
नेपाली फिल्म बनाएँ र पैसा खाए
तर तकदीर खान सकेनन् ।
यसरी मैले दशौं फिल्म ‘गुरूदक्षिणा’
बनाएर फर्किन लागेको बेला
प्रकाश थापा, नीर शाह आदि
धेरैले गाली गरे, फर्किनु हुन्न भने-
बम्बईमा पैसा धेरै होला
तर यहाँको जस्तो माया पाइन्छ र ?
वास्तवमा, बम्बईमा
मन मारेर २४ घण्टा दिमाग चलाउनुपर्छ
यहाँ २४ घण्टा मनले काम गर्न पाइन्छ
र म परें मनको मान्छे ।

मनले रोक्यो, साथीभाइले रोके
र म रोकिएँ नेपालमै
नागरिकता लिने पहल पनि गरियो
तर प्रक्रियाले ग्लानीबोध भयो
अनि म पहिचानले भारतीय
र मनले अनि कर्मले नेपाली भएर बसें
भाइ श्रवणको सोच व्यापारी भएकोले
उसले निर्माताको र मैले निर्देशकको
भूमिकामा आ- आफ्नो काम गरिरह्यौं
पहिले रीस पनि धेरै उठ्थ्यो
चित्त नबुझ्ने कुरा पनि धेरै थिए
अहिले त आँफैसँग बात मार्छु
कसैसँग कुनै गुनासो छैन
तर आमासँग धेरै समय
बसिरहन पाइन- त्यही पछुतो छ ।
यही बीचमा-
रणजीत दाईसँगको चिनजान र आत्मियताले
भारतीसँग पनि नजिक भएको थिएँ
आत्मियतासँगै चिना मिल्यो- बिवाह भयो
दुईजना छोरीहरू छन्- भावना र पञ्चमी
सबै यही क्षेत्र मै छौं
सिनेमामय छ पुरै परिवार ।

विगत २ वर्ष कोभिडले
सबैलाई थला पार्यो
मैले थुप्रिएका सबै काम सकाएँ
आफूलाई आफैले मूल्याङ्कन गरेँ
‘बाँसुरी’ देखि ‘दर्पण छायाँ- २’ सम्म
२३ वटा सिनेमा बनाएछु
३ वटा सिल्भर जुबली मेरै भागमा पर्छन्
त्यस्तै केही असफल सिनेमा पनि बनाएँ
धेरै कुरा सम्झौता गर्दा बिग्रियो
सम्झौता गरेको देखिदैन बिग्रेको मात्र देखिन्छ
ठूलो पाठ सिकेको छु
समयले धेरै कुरा सिकाउँदो रै छ
अब फेरि-
मनलागेको सिनेमा बनाउन चाहन्छु
स्क्रिप्टमा काम गर्दैछु-
तिमीले भने जस्तै
बैतरणी तर्नका लागि
अब दुईवटा सिनेमा बनाउन बाँकी छ
२३ जोड २ गर्दा २५ पुग्छ नी !


राजेन्द्र शलभ
[email protected]