समाचार
तिलोत्तमा ।
शब्दका सुगन्ध साथ शनिबार तिलोत्तमाको वातावरण फेरि एकपटक साहित्यिक माधुर्यले भरिएको छ । तिलोत्तमा–१, ड्राइभर टोलस्थित सहिद गङ्मालाल पुस्तकालय मा आयोजित “तिलोत्तमा साहित्य सङ्गम” को २०औँ शृङ्खलाले सिर्जनशील चेतनाको उज्यालो फैलाउँदै स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको भावलाई थप उचाइ दिएको हो । तिलोत्तमा साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक विमर्श, काव्य वाचन र सिर्जनामाथिको समीक्षा सँगै स्रष्टाहरूबीच अनुभूति र अभिव्यक्तिको सशक्त संगम देखिएको थियो ।
कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार डा. मुरारी पराजुली ले गर्नुभएको थियो । उहाँले साहित्यलाई “यथार्थमा आधारित कलात्मक अभिव्यक्ति” को संज्ञा दिँदै चेतना जागृत गराउने सिर्जनाले मात्रै समाजलाई सही दिशा दिन सक्ने धारणा व्यक्त गर्नुभयो । वाचित रचनामाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार रमेश समर्थन ले समीक्षा प्रक्रिया नै सिर्जनाको परिस्कारको आधार भएको उल्लेख गर्नुभयो । “समीक्षाले सर्जकलाई अझ निखारिन्छ,” उहाँको भनाइ थियो, “शब्दलाई जीवन्त बनाउने शक्ति निरन्तर अभ्यास र विमर्शमै निहित हुन्छ ।”
कार्यक्रममा ढालानन्द चालिसे, डि. आर. न्यौपाने, दिवाकर पन्थी, लक्ष्मण ज्ञवाली, श्रीराम नेपाली, दीप मिलन, रमेश समर्थन, उद्धव देवकोटा लगायत करिब एक दर्जन स्रष्टाले कविता, गजल तथा विविध साहित्यिक मौलिक रचना वाचन गरेका थिए । सिर्जनाका ती स्वरहरूमा समयको यथार्थ, समाजका संवेदना र मानवीय अनुभूतिका अनेक रङ मिसिएका थिए । अग्रज साहित्यकार गुरुदत्त ज्ञवाली तथा संस्थाका सदस्य गङ्गाराम आचार्यको समेत उपस्थिति रहेको कार्यक्रममा संस्थाका सदस्य तथा कवि उद्धव देवकोटा ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त अवसरमा देवकोटाले “तिलोत्तमा साहित्य सङ्गम” प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा आयोजना हुँदै आएको जानकारी दिँदै यसले नवीन स्रष्टाहरूलाई मञ्च, मार्गदर्शन र सिर्जनात्मक परिस्कारको अवसर प्रदान गरिरहेको बताउनुभयो । साहित्यको उज्यालोले समाजलाई संवेदनशील र सभ्य बनाउने विश्वासका साथ सम्पन्न उक्त शृङ्खलाले तिलोत्तमामा सिर्जनशीलताको दियो अझ प्रज्वलित बनाएको सहभागीहरूले बताए ।
– उद्धव देवकोटा, तिलोत्तमा
