हिलोमा कमल छ
यसको अर्थ यो हैन
कि कमलमा हिलो छ
बरू यो हो
कि कमलमा हिलोको
सापेक्षता खुलेको छ !
कि हिलोमा फुलेरै कमल
कमल भएको छ
हिलो बाट निर्लिप्त भएर !
शून्य केही हैन
तर त्यो नै सत्य हो
शाश्वत सत्य !
मलाई बोध हुन्छ-
यही हो मात्र यही
मेरो अन्तिम रूप ।
कुनै पनि क्षण
जब हुन्छु म
शून्यसँग साक्षात्कार
यन्त्रवत्
तब म नै हुन पुग्छु त्यसैत्यसै चुप !
‘असतोमा सद्गमयः
तमसोमा ज्योतिर्गमयः’
एकाएक वर्तमान भएझैँ मेरो सनातन
म बिस्तारै बिउँझिन्छु-
यही सत्यको स्निग्ध उद्घोष रहेछ
कमल-
हिलोमा फुलेको कमल !
मरे पनि यी आँखा उघ्रिनै रहनेछन्
एक टकले
ता कि यो यस्तै रहोस् !
साभार: बसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)