• २०८२ आश्विन २८, मंगलवार

क्षितिज पारि

दिपक चौलागाई

दिपक चौलागाई

समयको
धिपधिपे लालटिन बालेर
मिर्मिरेको लाली पर्खिरहेको थिएँ ।
त्यही बेला ऊ आयो,
मलाई भेट्न
उसलाई थाहा थियो-
मेरो छनोटको रंग कुन थियो ।
उसले मलाई
भरखरै फक्रिएको
एक थुँगा रैथाने गुराँस उपहार दियो
उसलाई थाहा थियो-
मलाई सबैभन्दा मनपर्ने ऋतु कुन थियो ।

मेरा वरिपरि
निषेधका पर्खालहरू ठडिएका थिए
उसले मलाई
ती गीतहरू सुनायो,
जसलाई म मनमनै गुनगुनाउने गर्थेँ
उसलाई थाहा थियो-
मलाई सबैभन्दा प्रिय लाग्ने धुन कुन थियो ।

उसले मलाई
सधैं देख्ने गरेको
त्यो लोभलाग्दो सपना देखायो,
जसले
मेरा आँखामा चाँदनी छथ्र्यो
उसलाई थाहा थियो-
खुला आँखाले देख्ने
सबैभन्दा रूमानी सपना कुन थियो ।

समयको सिँढी,
निर्धक्क उडिरहेको चरा,
उषाको प्रथम किरण,
उदयाचलको खुला क्षितिज
उसको गलामा
सम्मोहनको अपूर्व कला थियो
उसलाई थाहा थियो-
मनको क्यानभासमा
मैले सधैँ कोर्ने गरेको बिम्ब कुन थियो ।

बन्द पिँजडामा
समय प्रतिबन्धित थियो
सुस्त थियो,
सास फेर्नु पनि सास्ती थियो।
उसले पिँजडाको ढोका खोलिदियो ।
उसलाई थाहा थियो-
मेरा लागि
सबैभन्दा अनमोल पल कुन थियो ।

खुलापनमा
श्रवण अंग सक्रिय भयो,
ओठहरू खुले, हातहरू तन्किए,
म फटफटाउँदै उड्न थालेँ-
अगाडिको विस्तारित क्षितिज छुन
तर
जति जति उसको नजिक पुगेँ,
क्षितिज उति- उति टाढा हुँदै गयो ।

म सारिएको थिएँ
साँघुरो कोठाबाट
केबल विशाल कारागारमा
अर्थात्
पर्खाल बिनाको पर्खालभित्र,
जहाँबाट
दूर धेरै दूर
केबल देख्न सकिन्थ्यो-
क्षितिज पारिको स्वप्निल संसार

र अहिले-
खोजिरहेको छु म
एउटा पक्की बाटो
सपनाको खुल्ला संसार पुरयाउने ।


दिपक चौलागाई