• २०८२ आश्विन २२, बुधबार

लेखक ई. रामविन्दु श्रेष्ठका दुई पुस्तक लोकार्पण

काठमाडौंँ ।

विश्व कविता दिवस कार्यक्रममा लेखक ई. रामविन्दु श्रेष्ठका दुई पुस्तकहरुको विमोचन भयो ।

नेपाल रुस साहित्य समाज (नेरुसास) र रुसी सदन काठमाण्डौको सहकार्यमा रुसी सास्कृतिक केन्द्रमा आयोजित उक्त कार्यक्रममा लोकार्पित लेखकको पहिलो पुस्तक दुईवर्ष अगाडि प्रकाशित “मेरा सोभियत सम्झनाहरु” को रुसी भाषा संस्करण हो जसको अनुवाद सम्पादन रुसी लेखीका तमारा पत्योम्किनाले गरेकी हुन र यो हालसालै मस्कोमा प्रकाशन भएको छ । दोस्रो रुसी बालकथा “जिराफको अन्तर्वार्ता” को नेपालीमा अनुवाद हो, जसको लेखीका तमारा पत्योम्किना हुन ।

सांस्कृतिक केन्द्र पुस्तकालयकी भावना न्यौपाने बाट संचालित उक्त कार्यक्रमको पहिलो खण्डमा कविहरु अभय श्रेष्ठ, विष्णु बहादुर सिंह, चन्द्रकान्त आचार्य, दिनेश प्रधान , सदनकी सहनिर्देशक अनुश भन्यान, सविर नेपाल आदिले रुसी र नेपाली कविताहरू वाचन गरे । कार्यक्रमको दोस्रो भागमा नेरुसासका अध्यक्ष विष्णु बहादुर सिंह, उपाध्यक्ष चन्द्रकान्त आचार्य, प्रा. डा. खेम कोइराला बन्धु र अनुश भन्यानले संयुक्तरुपमा पुस्तकहरु विमोचन गरे भने लेखक अनुवादक रामविन्दुले दुबै पुस्तकको छ महिने अनुवाद यात्रा सुनाए ।

लेखकले “जिराफको अन्तर्वार्ता” कुनै दन्त्यकथामा आधारित नभएर सत्य, तथ्य घटना र तिथी मितीमा आधारित रहेको र जिराफको साथी इगोर लेखीका तमाराकी आफ्नै भाइ भएको बताए । उनले रुसी भाषा प्रकाशनको संयोजन गर्ने तमारा, सहयोग पुर्याउने रुस नेपाल सहयोग तथा मैत्री समाज मस्कोका अध्यक्ष मिखाइल सेर्गेइविच नेक्रासोभ, उपाध्यक्ष दीनानाथ राजभण्डारी प्रति हार्दिक आभार व्यक्त गरे ।

रुसी भाषामा प्रकाशित “मेरा सोभियत सम्झनाहरु” को समीक्षा अनुश भन्यानले गरेकी थिइन भने “जिराफको अन्तर्वार्ता” को विश्लेषण लेखक चन्द्रकान्त आचार्यले गर्नु भयो । यो कथा नेपाली बालबालिकाहरुले मन पराउने छन् र बालसाहित्यमा लाग्नेहरुलाई रुसी साहित्यको उदाहरणले रुचीकर हुनेछ भन्दै उहाँले पुस्तकका रोचक र ज्ञानबर्धक टुक्राहरु पढेर सुनाउनु भयो । मस्को चिडियाखानाको जिराफ र भंगेरा बीचको कुराकानीमा आधारित, इगोर र जिराफको माया प्रेमले भरिएको यो किताबले साना केटाकेटीको बालसुलभ मनलाई धेरै प्रभाव पार्नेछ आचार्यले भन्नु भयो ।

मन्तव्यको क्रममा प्रा. डा. खेम कोइराला बन्धुले रामविन्दुको साहित्यिक यात्रा खोला हुँदै समुद्रतर्फ, बाग्मती गण्डकी हुँदै मस्को तर्फ बगिरहेको छ भन्नु भयो । कार्यक्रमको समापन गर्दै नेरुसासका अध्यक्ष विष्णु बहादुर सिंहले रामविन्दु श्रेष्ठले निकै मेहनत गरेर यी पुस्तक ल्याउनाले नेपालीहरुले के बुझ्दा रहेछन्, नेपालीका भावना के छन् भन्ने कुरा रुसी पाठकहरु सामु पुर्याउन सक्यौं भन्नु भयो । हामी माझ पनि विश्वस्तरका साहित्यकारहरु हुनुहुन्छ होला तर हामीले अनुवादको माध्यामबाट तिनलाई अन्तराष्ट्रमा प्रस्तुत गर्न सकेका छैनौ भन्दै वहाँले कार्यक्रम आयोजनमा सहयोगको लागि रुसी सदन, सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिनुभयो ।

अनुवादिका लेखीका तमारा पत्योम्किनाले थुप्रै नेपाली रचनाहरु रूसी भाषामा अनुवाद गरेकी र हालसालै नेपाली र नेपाल भाषाका कविहरुको प्रतिनिधिमूलक काव्य संग्रह “नेपालसंग परिचय” रुसी पाठकहरु माझ पुर्याएकी छिन् ।