• २०८२ भाद्र २९, आईतवार

डा. आचार्यको ‘नेपाली दुष्कृति कानुन टिप्पणी’ पुस्तक प्रकाशित

काठमाडौँ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यद्वारा लिखित ‘नेपाली दुष्कृति कानुन टिप्पणी’ पुस्तक प्रकाशित भएको छ । पुस्तकमा मुलुकी देवानी संहिता, २०७४ को दफा ३७२ देखि ३८४ सम्म व्यवस्था गरिएको दुष्कृति कानुनमाथि दफावार विवेचना गरिएको छ ।

इलाहाबाद विश्वविद्यालयबाट दुष्कृति कानुनमा एलएलएम तथा विद्यावारिधि उपाधि हासिल गरेका डा. आचार्य यस विषयका विज्ञ हुन् । पुस्तकमा दुष्कृति कानुनसँग सम्बन्धित सयभन्दा बढी विदेशी केसहरू र झन्डै दुई दर्जन नेपाली केसहरूको सन्दर्भ समावेश गरिएको छ । डा. आचार्यद्वारा विसं २०७४ मा प्रकाशित ‘दुष्कृति कानुन’ पुस्तकले उत्कृष्ट कानुन पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।

स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका तथा जर्नलहरूमा ५०० भन्दा बढी लेखरचना प्रकाशित गरिसकेका आचार्यका अन्य कृतिहरूमा नागरिकता विधिशास्त्र (२०५५), भक्ति आँकुरा भजन सङ्ग्रह (२०५७), अपराध अनुसन्धानको सामान्य जानकारी (२०५८), शब्द बन्न डराएका अक्षरहरू (२०५९), हतकडी (उपन्यास- धारावाहिक), सवारी तथा यातायात व्यवस्था ऐन २०४० एक टिप्पणी (२०६५), वादी (उपन्यास- २०७१) तथा दुष्कृति कानुन (२०७४) रहेका छन् ।

यो पुस्तक कानुनका विद्यार्थी, अधिवक्ता, न्यायाधीश एवं विधायकलाई पनि उपयोगी हुने बताइएको छ ।