• २०८२ आश्विन ६, सोमबार

कबाडी

कात्यायन

कात्यायन

“म तपाईँलाई उपहार ल्याउँदैछु है ?”
हिजो मात्रै अभिनन्दित एक वरिष्ठतम् साहित्यकारको, झिसमिसेमा नै फोन आएपछि, ऊ उत्साहित र कौतुहल हुँदै प्रतीक्षा गरिरहेको थियो ।
केही क्षणमा नै साहित्यकार महोदय आउनु भयो र भन्नू भयो, “बाहिर पठाओ पर्खिरहेछ, पेमेन्ट गरेर उपहार ल्याउनु !”
उसले सकी नसकी दुबैहातले चारखेप गरेर, आठ बोरा लिएर आयो ।
पसिना पुछ्दै, उपहार खोलेर हेर्यो । बोराभरि पुस्तकहरू थिए ।
र्‍याकहरूको अभावमा, कोठाभरि यत्रतत्र छरिएका अन्य पुस्तकहरूतिर हेर्दै उसले सोध्यो, “हजुरले यी यत्रोबिघ्न पुस्तकहरू पढी सक्नु भयो ?”
वहाँले भन्नू भयो, “कहाँ पढ्नु ?”
उसले अचम्म मान्दै प्रश्न गर्यो, “अनि किन त यहाँ ल्याउनु भएको नपढी ?”
झर्को मान्दै, वहाँले भन्नू भयो, “के गर्नु त ! कुनै कार्यक्रममा जान नै हुन्न, लस्कर लागेर मञ्चमा नै आएर किताब टक्राउन थाल्छन् !”
ऊ अझ आश्चर्य भएर सोध्छ, “अनि पढ्दै नपढी ?”
“आफूलाई, आफैँले लेखेको पढ्ने त फुर्सद हुन्न । कहाँ पढ्नु यी फोकटका ?”
ऊ उपहारस्वरूपका पुस्तकहरू जोख्न थाल्छ ।
वरिष्ठ साहित्यकार बाहिर निस्कँदै भन्नू हुन्छ, “बिक्री गरेपछि, हिसाब गरेर, मेरो हिस्सा, खातामा जम्मा गरिदिनु होला !”


कात्यायन
चाबहिल, काठमाडौं – ७