• २०८१ कातिर्क २९ बिहीबार

शूल

 ईश्वर पोखरेल

ईश्वर पोखरेल

गीताको जिउनी थियो ।

शेषपछिको जिउनी हक आफ्नो नाममा पारेछ- कुलदीपले । निरक्षर गीता । लेखापढीका कुरा उनलाई अत्तो न पत्तो । कलम कसरी रड्किन्छ र त्यसको परिणाम के हुन्छ भन्ने बिचरीलाई के थाहा ? गीतालाई थाहा थिएन: कुलदीपलाई सजिलो भयो ।

कुलदीपका दाजुभाइले थाहा पाई हाले ।
बाबुआमाको जिउनीमा शेषपछि सबै छोराको हक लाग्छ भन्ने कुरा गीताले देखेकी थिइन् । जिउनी कुनै एक छोराले आफ्नो भागमा पारयो भने अरु सन्तान पर हुन्छन् भन्ने चेत पनि गीतालाई थियो ।
अड्डामा केही न काम भयो कि भन्ने मानेर गीता झस्किइन् ।
आफ्नो वृद्धावस्था । सबै सन्तानको साथ चाहिने आफ्नो अवस्था । बुढेसकालमा आफ्नै सन्तानलाई वर र पर गरियो कि भन्ने पनि उनलाई लाग्यो । कुनै एउटालाई काखी च्याप्दा बाँकी सन्तान छिन्नभिन्न हुन्छन् कि भन्ने चिन्ताले गीतालाई निन्द्रा पर्न छाड्यो ।
डाक्टरले सोध्यो- ‘कत्तिको निन्द्रा पर्छ आमा ?’
गीताले जवाफ दिइन्- ‘निदाउँछु ।’
कुलदीप नजिकै उभिएको थियो ।
गीताले आफैसंग भनिन्- ‘यही कुलदीपको छलले गर्दा सोझा छोरा जन्माउने भाग्यमानी आमाहरू जति गहिरो निन्द्रा कहिल्यै निदाउन सकिनँ ।’


ईश्वर पोखरेल, बोझेपोखरी, ललितपुर
[email protected]