कहानी-हिन्दी
महाभद्रगोल भयो क्याम्पसमा । जति गरे पनि पठनपाठनलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन सकेन, क्याम्पस प्रशासनले । विभाजित समाजमा जे पनि गिजोलिएको छ, बिथोलिएको छ । सोचमग्न भए क्याम्पसप्रमुख गोवर्धनधारी आशुतोष विवेकी । उनी काबिल हुन् -तर एक्लो बृहस्पति ! एकदिन,
“ए रामे, तेरो जेलमा सबैभन्दा खतरनाक कैदी को छ ? देखा त !” बालसखा रामनारायण औतारी, चीफ सरको, ऊ जेलर भयो, शोलेको असरानी ! अनौपचारिक स्वभाव । “किन र चीफे, सञ्जीव कुमार हो तँ ? गब्बर समाउनपर्यो ? नेपाली शोले सिनेमा बनाउने ? अरे गोवर्धने, तेरो योजना के हो ? किन चाहियो पवित्र धामको राजालाई गुण्डा ?” जेलर ।
“मजाक नगर न यार ! म अलि गम्भीर छु आज ! कैदी डरलाग्दो भए पनि निर्दोष होस्- यो देशमा, अक्सर, जेलभित्र हुनुपर्ने जेलबाहिर र जेलबाहिर हुनुपर्ने जेलभित्र छन् अरे, रे है रे ! मेरो एक मित्रले भनेको ।” विवेकी । अलि गम्भीर भयो जेलर, बोल्यो,” हेर यार, नेपाली समाजमा बेकसूर हुनु नै सबैभन्दा ठूलो कसुर हुन्छ ! साथी, एउटा कैदी छ, नाम हो ” बी बी ए ” हेर्दा खतरनाक, घटोत्कच, तर अति निर्दोष । ब्ल्याक बेल्ट हो । एम फील हो यार गणितमा, मेधावी, अति । अझ त्यो “सुयोग पाठक” धीमहिको सङ्गतले ध्यान पनि गर्छ, योग सिक्यो । खेलाडी पनि हो । लेख्छ, गजल । उद्देश्य भन्न मिल्छ ?” जेलर ।
“सर्वहित !” चीफ सर, विवेकी । “सात दिनपछि आऊ !” जेलरको परमादेश । सात दिनमा, जेलरको सिफारिसमा बी बी ए को सजाय माफ भयो, ऊ किन आयो जेलमा ? बी बी ए बद्रीविक्रम आले, उसकी बैनी राखी आले, अति राम्री, कलेजमा केही युवकहरूले हातपात गरेछन्- कीचकहरू मन्त्री र नेताका कपुतहरू, दाइले हातपाउ तोडिदियो, मारेन । समातियो, अनि हालियो जेलमा, तीन सालअघि । नत्र सोझो मगर, पाल्पाली । अविवाहित, उमेर ३३ वसन्त । समितिसित परिचय गराएर बी बी लाई गणित गुरुमा नियुक्त गरे, चीफ सरले, नियुक्ति पनि स्थायी दिए । आफ्नो योजना बताए ।” हस् सर, म हजुरको हरेक सपना साकार पार्न कोसिस गर्छु ।”
आहा, आमूल परिवर्तन ! सारा साना गुण्डाहरू,सबै रङ्गका तह लागे । कोही कलेज छोडेर टाप । चुनाव बन्द ! राजनीति बन्द ! जय नेपाल र लाल सलाम बन्द ! हडताल बन्द ! राजनीतिको आडमा नियुक्त भएका अयोग्य गुरुहरू पनि टाप ! क्याम्पस नमूनाको भयो । नतिजा ९०%. “बद्रीबिक्रम आलेलाई” सरकारले शिक्षाश्री पदक दियो । पब्लिक क्याम्पस, तीस करोड रुपैयाँ अनुदान आयो यू जी सीबाट । बी बी ए रीडर भयो । चीफ सरले आफ्नै साली “सफला खुशी” एकल नारी, सित विवाह गरिदिए । “साना गुण्डाहरू तह लगाउन त ठूलो गुण्डा चाहिने रहेछ !” चिया गफ, जीतेन्द्र महतो ।
“बी बी ए हरेक कलेजमा चाहिन्छ !” बलराम लामिछाने, अभिभावक ।” हाम्रो चीफ सरको कूटनीति मान्नुपर्छ, चलाख बूढा ! ” हिमाल सुवेदी । “सायद, सबै खराब नेताहरू एकखाले साना गुण्डा हुन् – कसैले कोमलकान्तलाई “पी आर” दिलाउन खोजेको पनि ठूलो गुण्डा खोजेको त होइन नि ?” दीपक घिमिरे । “हो यार, गुण्डा सफल भए नेता हुन्छ अरे, नेता असफल भए गुण्डा हुन्छ अरे !” कमल भट्टराई ।
२७ बर्ष चलाए प्रशासन विवेकीले । उमेरको हद, छोडे । समाजले अध्यक्ष बनायो, समितिको । उही बी बी ए नै क्याम्पस प्रमुख भयो । क्याम्पसको मात्र होइन सबैको हित भयो । योजनाको नाम नै “सर्वहित !” सफल भयो । विवेकी आफ्नो जीवनकथा लेख्न कस्सिएका छन् । “सर्वहितको लागि, यो देशमा पनि एक “बद्रीविक्रम आले” नै चाहिन्छ !” रमेश प्रभात, सम्पूर्णमा । सबैको समर्थन प्राप्तभयो ।
धनराज गिरी