वसन्तवेला

नव निर्वाचित मुख्य मन्त्रीको कार्यालयमा जनताहरुको भिड थियो । कसैको हातमा खादा माला त कसैको हातमा आवेदन पत्र थिए, सबै आ-आफ्नो पालो कुरिरहेका थिए । यसै भिडमा रामप्रसाद पनि संलग्न थियो ।
उसलाई भित्रबाट विशेष बोलावट भयो,ऊ गयो,कसैले मन दुखाएनन्, किन कि चुनावको समयमा उसले खुवाएको भतेरको स्वाद सबैका जिब्रोमा अझै थिए ।
उसलाई देख्नसाथ मुख्य मन्त्री उठे, हात जोडे । खादा मालाको औपचारिकता सके पछि मुख्य मन्त्रीले दिल खोले –
“म हजुरको निम्ति के गर्न सक्छु, आदेश होस् ।”
“मलाई हजुरको सरकार र ज्यानको चिन्ता छ त्यसैले म मेरो दुवै छोराहरूलाई हजुरको सल्लाहकार र सिक्युरिटी गार्डमा नियुक्ति गर्न चाहान्छु ।” उसले आत्मीयता देखायो ।
मुख्य मन्त्री बोलेनन्, उसले पुनः थप्यो –
“आखिर दुवैले पढेका छन्, बलिया छन् ।”
मुख्य मन्त्रीले सोँचमग्न हुँदै सुझाए-
“यी पदहरु खाली छैनन्, अरु नै भन्नोस् ।”
“को लागे त यी पदहरुमा ?” उसले अचम्मित हुँदै सोध्यो ।
मुख्य मन्त्रीले गम्भीर हुँदै प्रतिप्रश्न राखे –
“आमा भन्दा समझदार सल्लाहकार र पत्नी भन्दा बलियो सिक्युरिटी गार्ड अरु को हुन् सक्छ र !”
सोम कुमार सुब्बा
लिङ्दोक, पूर्व सिक्किम