• २०८२ भाद्र २९, आईतवार

स्वतन्त्रता

दीपक चौलागाईं

दीपक चौलागाईं

यदि थिएँ भने म, चरा- स्वतन्त्र,
उड्थेँ बादलको श्वेत चादरभित्र
नाघ्दै पर्वत अग्ला, दिक्-दिगन्तर ।
कावा खाँदै, रम्दै, नभमा निरन्तर ।

गाउँदै स्वाधीनताको गीत हरदम,
सुनाउदै सृष्टिको, संगीत सरगम ।
घुम्दै पहाड, चुम्दै नीलो आकाश,
बर्साउँदै धरामा, वासन्ती उल्लास ।

गुन्गुनाउँदै फूलमा, नीलो, पहेँलो,
पिउँदै पियुष, स्वादिलो, रसिलो ।
शीतल जलमा भिज्दै, रमाउँदै,
सुन्दर, स्वप्निल, संसार सजाउँदै ।

हराभरा तरेली, लालिमाको होली,
साथीसँगी खेल्दै, मनाउदै रङ्गेली ।
न आशा , न चिन्ता, मात्र आनन्द,
मन्द- मन्द छरेर, जीवनको सुगन्ध ।

न सिमा, न बन्धन, न कुनै दीवार,
छ दरबार हाँगामा आकाशै संसार !
न डर, न त भर, न घोर निराशा,
न आवेश, न कुण्ठा, न कुनै लालसा ।

न घृणा, न ईश्र्या, न मोह, न आग्रह,
न विराग, न सन्ताप, न दुखको सङ्ग्रह ।
चरा थिएँ भने म, क्या बहार हुन्थ्यो,
स्वतन्त्र पंख र साथमा तिमी हुन्थ्यौ ।


दीपक चौलागाईं