स्वप्नदंश - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

स्वप्नदंश

बाँस्कोटा धनञ्जय

बाँस्कोटा धनञ्जय

समयले होला सायद, म उसबेला ठूला सपना सजाउँथें । ती पढाइका सपना हुन्थे । खुसी र हाँसोको जीवन जिउने सपना हुन्थे । नेपाली बिषयको प्राध्यापक बन्ने अनि नेपाली भाषा र साहित्यको लेखक बन्ने सपना हुन्थे । अनि त्यसमा मिसिएको सानो परिवारको सपना झुण्डिएको हुन्थ्यो ।
उच्च मावि तहको पढाई आफ्नै गाउँको आदर्श उच्च मा.वि.बाट सम्पन्न भए पछि मेरो स्नातक तह पढ्ने सपना साकार हुन पुग्यो ।
एउटै मात्र भए पनि सपना पूरा हुन लाग्दै थियो । खुसीको मन मुठीभरी संगालेर बुबाममीको कोठामा छिरें । धेरै दिनदेखि मेरो पढाइको विषय गम्भीर बनेको थियो घरमा ।
बुबा ओछ्यानमा पल्टि रहनुभएको थियो बिहानको खाना पछि । उहाँ बिरामी हुनुहुन्थ्यो । छेउमा निन्याउरो मुख लगाएर ममी ढल्कि रहनुभएको थियो ।
‘छोरी, मैले जसोतसो खर्चको ब्यावस्था मिलाएको छु । गएर बी.ए.मा नाम लेखेर आइज । पहिलेका छोरीले पढाइ बिचमै छाडे । तँ चाहिं पढ ।’ क्याम्पसमा नाम लेख्ने सातहजार रूपैया मलाई थमाउँदै बुबाले यसो भन्नु भयो ।
मैले बिरामी बुबाका हातबाट पैसा थापें । निकै सकस महसुस भयो ।
तैपनि हिम्मत लिएँ मनभरी, पछि म जागिर खाएपछि बुबाको साहारा बन्छु ।
‘खै बा, बिरामी पनि छौ । औषधी पनि किन्नु पर्छ । छोरीलाई पढाउँछु भन्छौ । बालुवामा पानी हाल्नु त होला नि ! म केही बुझ्दिन ।’ म बाहिर निस्किदै गर्दा ममीको मुखबाट आइरहेको यो आवाज मेरो कानमा मात्रै होइन, नशानशामा पुग्यो ।
मैले ममीका कुरामा अन्यथा ठान्नु उचित थिएन । किनभने दुईवटी दिदीले पढाइ बिचैमा मात्रै छोडेनन्, बुबा ममीको इच्छा विपरित बिहे गरे । आजसम्म बुबाममीको मन सङ्लिएको छैन ।
म बाट पनि यस्तो हुन्छ कि भनेर उहाँहरू चिन्तित हुनुलाई मैले मेरो जिन्दगीको बाटो सफा देख्ने चक्षु ठहर गरें । किनभने मेरो वैयक्तिकतामा यो संपूर्ण परिवार समावेश थियो । तर दिदीहरूको वैयक्तिकतामा यो परिवार समावेश हुन सकेन ।
पहिलो बर्षको पढाइ जनता बहुमुखी क्याम्पसमा मङ्सिरबाट सुरू भयो ।लाग्यो, एउटा सपना पूरा हुने पाइतो थियो त्यो । भवनहरू र विद्यार्थीहरूको घुईंचोमा म थपिएकी थिएँ ।
म पहिलो दिन क्याम्पस हातामा छिर्दै गर्दा मेरो मनको प्रदिप्तता थामि नसक्नु भयो । रोमाञ्चित अनुभूति भयो ।
कक्षामा गएर पछाडि पट्टिको बेञ्चमा बसें । नयाँ अनुहारहरूको बिचमा थिएँ । मान्छेका भीडमा एक्लो पो भइन्छ कि भनेर मन बिद्रुप बन्न थाल्यो । पढ्न उर्लिएको मन मडारिएला भन्ने त्राहीमाम् भयो ।
तर मनलाई रोमाञ्चक बनाउने प्रयास गर्ने अठोट लिएँ ।
केही समयपछि करूणा नाम बताउने केटी आएर छेउमा बसी । उही मेरी पहिलो साथी थिई त्यस क्याम्पसमा ।
पाँचवटा घण्टी पढाई भए पहिलो दिन नै ।
सबै सामान्य जस्तो लागेन । सबै घण्टी सामान्य जस्तो लागेनन् । सबै सरहरू एकैखाले र सामान्य जस्तो लागेनन् । हुँदोरहेछ कुनै खास बिशेष पनि । यस्तै महसुस भयो । विद्यालयभन्दा निकै फरक ।
घरमा आएर बुबाममीलाई सुनाएँ । बुबाको मुस्कानमा मैले उज्यालो बाटो देखें ।
ममीको शान्तपनमा मैले मेरो बाटोका ट्युवलाइटहरू निभ्न लागेको देखें ।
यिनै दुईवटा बिरोधाभाषमा मेरो जीवनको दोस्रो आयाम सुरू भयो ।
सुन्दर शैक्षिक वातावरण देखें मैले त्यहाँ । खास राजनैतिक प्रभाव पनि देखिँन मैले । अनुभवी पाएँ सरहरू पनि । शिक्षकहरूको उत्कृष्ट प्रदर्शन देख्दा म अचम्मित हुन्थें । म नेपाली मूल विषयकी बिध्यार्थी थिएँ । नेपाली कविता, नाटक, निबन्ध, कथा र उपन्यासले मन रंगाउँदा आनन्द लिने गर्थें र आँफू पनि सकेसम्म सिर्जना गर्ने प्रयत्न गर्थें । क्षितिज सरको नेपाली साहित्यको अध्यापन गराउने कला र भूमिका देखेर मनमनै म कहिल्यै पनि उहाँ जस्तो योग्य र अध्यापन गराउने सीप भएको शिक्षक बन्न सक्ने छैन होला भन्थें । उहाँको भिन्न शैली र स्वरमा सजिएको ‘मेजर नेपाली’ कक्षा पूरै सहभागीता मूलक पठनपाठनमा रम्थ्यो ।
क्षितिज सरको प्राय मुस्कुराइरहने र हँसिलो अनुहारमा प्रस्तुत हुने बानी थियो । उहाँले कालो अनुहार लगाएको मैलै तिन बर्षको अवधिमा कहिल्यै पनि देखिन । उहाँ समयमा कक्षामा आएर समयभरी कक्षा लिने एक मात्र शिक्षक हुनुहुन्थ्यो । उहाँ कक्षामा प्रवेश गर्दैदेखि एउटा अर्थ लिएर आउनुहुन्थ्यो । उहाँको प्रत्येक अभिव्यञ्जना अर्थपूर्ण हुन्थे । पुरानो मोटरसाइकलमा सधैं उही सेतो सर्ट खैरो पैंण्ट अनि काला जुत्तामा शीर ठाडो पारेर आउँदा उहाँ झनै मनमोहक देखिनुहुन्थ्यो । कक्षामा केही उद्दण्ड केटीहरू ‘सर यु आर सो ह्याण्सम’ भन्थे, उहाँ झनै मुस्कुराएर त्यसको उत्तर दिनुहुन्थ्यो । कक्षमा कुनै कुनै बिकामे केटा पनि थिए । तिनलाई सरले उल्टै प्रशंसा गरिदिनुहुन्थ्यो । ती लाजले भुतुक्कै हुन्थे र शान्त रहन्थे ।
उहाँ जीवनलाई हेर्ने उत्तरवर्ती अनपेक्षित आयाम छन् भनेर जीवनलाई आकारविहीन र प्रचञ्पूर्ण बनाइदिनुहुन्थ्यो । ती आयामहरू बिभत्स, रौद्र, बीर वा कायर जे पनि हुन सक्छन् । ती आयामहरू आकारबिहीन र अपत्यारिला पनि हुन सक्छन् । जीवनलाई हेर्ने नजर र बोधगम्यता फरक फरक हुनाले हामी फरक फरक अस्थित्वको झण्डा गाडेर फरक कोणबाट महानताको पगरी लगाइरहेका हुन्छौं । किनभने हाम्रो संस्कार, धर्म, पढाई, परिवार, र समाजिक वातावरणले हामीलाई एउटै चिज पनि फरक देख्ने बनाउँछ । यही फरक प्रस्तति नै साहित्य हो भनेर साहित्यको दायरा यति फराक बनाउनुभयो कि मलाई साहित्य झनै मन मर्न थाल्यो । उहाँको सिर्जनाको उत्कृष्टतालाई सबैले प्रशंसा गर्थे ।
उहाँको कक्षा ब्यावहारिक पढाइमा आधारित हुन्थ्यो । सपनाको खेती अक्षरको बारीमा उब्जाउन लगाउनु हुन्थ्यो । हरेक दिन कक्षामा बिषय माथि बोल्नु पथ्र्यो । अनि लेखेर कक्षामा सुनाउनु पथ्र्यो ।
‘ए, नाम के रे, मीमांसा, तिमी भन, मुकुन्द इन्दिरालाई आजको नारीवादी चक्षुले बालकृष्ण समको समाजलाई कसरी उल्ट्याइदिन्छ ? पहिला छलफल, अनि एक अनुच्छेद लेखेर सुनाउने र भोलि एक पेजमा लेखेर ल्याएर कक्षामा प्रस्तुत गर्ने ।’ क्षितिज सरले मलाई नै औंल्याउनुभयो यो प्रश्नमा ।
मलाई गाहे भयो । तै पनि सम्झे, यो मेरो अग्नी परीक्षा हो । आज मैले उत्तर दिन सकिनँ भने ममाथि कहिल्यै प्रश्न आउने छैनन् । नारीवादको कुरा तसलिमा नसरिनको उपन्यास पढेर थाहा पाएकी थिएँ ।
‘सर, इन्दिरा हाम्रो अहिलेको समाजको लागि अनुपयुक्त पात्र हो । प्रेम श्रीमतीले मात्र गरेर हुँदैन, श्रीमानले पनि गर्नु पर्छ । यो एक तर्फि भयो । महिलालाई कमजोर रूपमा देखाइएको छ जस्तो लाग्छ…।’
‘भेरी गुड, मीमांसा । मैले यही अपेक्षा गरेकी थिएँ तिमीबाट ।’
कक्षामा मेरो सहभागिता यसै कर्ममा उत्कृष्ट रहन पुग्यो । उहाँले प्राय मेरो मुखमा हेरेर पढाउनुहन्थ्यो ।
म साथीहरूले देख्लान कि भनेर मुन्टो अर्कोतिर लान्थें ।
नहेरि पनि सक्दिनथें । हेर्न पनि सक्दिनथें ।
उहाँ क्याम्पस नआएको दिन कक्षाकोठा खल्लो हुन्थ्यो । निराकार हुन्थ्यो । फुस्रो हुन्थ्यो ।
अर्थात मैले उहाँको छायालाई समात्न थालेंछु ।
उहाँले मेरो छायालाई के गर्नु भयो, थाहा भएन ।
मेरो बीएको पढाइ यसरी समाप्त भयो । यसरी तीन बर्ष बिते पत्तै नपाई । उत्कृष्ट नतीजा आयो मेरो ।
अर्थात मैले बी ए पास गरें ।
+ + +
‘जागीर पाईस, मीमांसा ? बीए पास गर्दा त पाइहाल्छु भन्थिस त ?’
‘सोच्दै छु, ममी ।’
‘सोचेर मात्र हुन्छ ? पहिला सिर्जना मा.वि मा पनि निवेदन दिएको होइन ? नाम निस्किएन ।’
‘सबै उत्तर, मिलाएकी थिएँ त । हेडमास्टरको पार्टीसंग गुहार माग्नु पर्ने रहेछ, थाहै भएन ।’ मैले निन्याउरो भएर उत्तर दिएँ ।
‘अनि अमूल्य रत्म मा.वि मा चाहिं ? त्यहाँ पनि त दिएकी थिइस त ।’ ममी अति नै निरास हुनुभएको रहेछ मेरो असफलताको कारणले । पत्यारै लागेनछ मेरो क्षमतामा । यही सोचें ।
‘स्थानिय कोटालाई भनेर त्यही गाउँकोलाई दिए ।’ म अव साँच्चि नै पानी भएँ ।
‘अनि रमेन्द्र मा.वि मा चाहिं ? कि त्यहाँ पनि कुनै बाहाना छ ?’
‘बाहाना होइन ममी, यथार्थ । आदिवासी कोटालाई भनेर विज्ञापनमा लेखेको छ भने । तर लेखेको थिएन । मेरो जातले दिएन ।’
‘अनि ब्राइटर फयूचर हाइस्कुलमा त बोलाएका थिए भनेको होइन ? किन नगएकी ?’ ममीका प्रश्नले म एउटा हारेको सिपाही बन्दै थिएँ ।
‘ममी, त्यहाँ त आधा तलवमा काम गर्नु पर्ने रे । त्यो पनि बिहानदेखि बेलुकासम्म । कक्षा कोठा आफै सफा गर्नु पर्ने । केटाकेटीका पेन्सील आफै तिखारिदिनु पर्ने । तिनका टिफिनमा झोला रूँगिदिनु पर्ने । तिनले ट्वाइलेट गएर आउँदा लडछन् कि भनेर हेर्नु पर्ने । बेलुका छुट्टी हुँदा तिलका झोला समातेर तिनका हात समात्दै बाटो कटाइदिनु पर्ने । तिनका कपीमा हरेकदिन होमवर्क लेखेर दिनु पर्ने र भोलिपल्ट हेरेर रातो मसीले सही गर्नु पर्ने ।………’
‘लु भयो भयो, मिमांसा, भयो । पुग्यो । त्यसलाई त्यागरे ठिकै गरिछस । तर अव के त ? जागीर नपाउने हो भने किन पढ्ने त ?’ ममीको मन्द आक्रोश शान्त भएन ।
‘हुन्दे न, कृष्णा, हुन्दे । मीमांसाले गर्छे । पढिसकेर जागीर गर्छे ।’ बुबाले ममीलाई सान्त्वना दिनुभयो ।
‘बुबा, म डिग्री पनि पढछु र क्याम्पसमा काम गर्छु । अनि म सबै समाधान गर्छु घरको । स्कुलमा नपाए पनि क्याम्पसमा त तिनका बाबुको केही लाग्दै न नि । सजिलै पाइन्छ रे पढाउन ।’
‘बाबुको उपचारमा हामीले खचै गरेको चार बर्ष भयो । भरतपुरले पनि फिर्ता गरिदियो । बाबुको प्रा.वि शिक्षकको पेन्सनले कति थोक गर्नु ? खेतिपाति । तेरो पढाइ । तेरो बिहे । उपचार । चाडबाड । पाहुनापात । लुगाफाटो ……।’
‘म सबै धान्न सक्छु नि जागीर खाए पछि, ममी ।’ मैले ममीसंग मुख लाग्न बाध्यता र आवश्यकता दुबै ठानें ।
‘तीन पटक भयो राम्रा घरबाट केटा माग्न आएका । मान्दिनस पनि । खै कसरी बुझ्नु ! के बुझ्नु ! बा अन्तै कतै चक्कर छ झारपातसंग तेरा कुलङ्गार दिदीहरूको जस्तो ।’
‘हुन्दे, पढ्छे भने पढोस । अरू थाङ्ने कुरा नगर छोरीका अगाडि । यो उसका दिदीहरूजस्ती छैन । बुझकी छे ।’
‘कसरी पैसाको जो गर्नु ? यसपालि पनि भाइसँग पैसा माग भन्नलाई होला, म अब यस्तो काम गर्दिनँ ।’
सान्नाटा छायो एकछिन् ।
म अवाक् उभिरहें । भाउन्न भयो ।
मैले कठोर निर्णय लिने निधो गरें ।
किनकि पढाई बिवाह पछि पनि त चल्न सक्छ । बाबुआमाको बोझ हलुका हुनु पहिलो सर्त हो ।
हुँदैन, बोझ कसैको पनि बनिनु हुँदैन, यो सबैभन्दा ठूलो सर्त हो जिन्दगीको ।
मीमांसाले पैसा सकी भन्ने कचकच कति सुन्नु ?
‘तपाईहरूले भनेको त्यो अस्ति आएको केटासंग म विवाह गर्न राजी छु ममी ।’ मेरो विवाह मेरा बुबा आमाले भने बमोजिककै धेरै संपत्ति, जग्गा र जमिन भएको मान्छेसँग भयो ।
म धनी मान्छेकी स्वास्नी र त्यो घरकी बुहारी बनें ।
मेरो हुलिया बदलियो । म अर्कैै जीवनशैलीको तेस्रो आयाममा बाँच्न थालें । पहिलो आयाम बाल्यकाल थियो, रोमाञ्चकताले भरिएको । दोस्रो आयाम क्याम्पसको पढाई थियो, नयाँ अनुभूतिले भरिएको । यो तेस्रो आयाम ऐसले भरिएको ।
भारतीय नायीकाहरूले लगाउने सारी लगाएँ । जर्मनीमा बनेका जुत्ता लगाएँ । थाइलैण्डमा बनेका कुर्ता स्कर्ट लगाएँ । अनि युरोप र अमेरिकाबाट आफन्तहरूले पठाइदिएका घरभरी राखेका सामानको मालिक्नी भएँ ।
अनि आफैँलाई सोधें ‘मीमांसे, तँ खुसी छेस ? तेरो बाबु आमाप्रतिको दायित्व पुरा भयो ?’
सुरू सुरूमा हामी खुसी थियौं । हनिमूनका लागि थाइलैण्ड गयौं एक हप्ता । त्यहाँ सपिङ्ग गर्ने मेरो सपना पनि थिएन, पुग्नु त परै जावस । विश्वको ठूलो सपिङ्ग महलमा गएर सामान किन्यौं । मेरा दिदीहरूले साँच्चै गुन्द्रुकमै जात हालेछन्, मनमनै सोच्ने गर्थें । मेरो जीवनका अघिल्ला आयामहरू सबै विस्मृत बन्न थाले ।
म भौतिक सम्पन्नताको शिखर चुमिरहें । श्रीमानका व्यक्तिगत कुराहरूमा चासो पनि दिइनँ । खानाका यति धेरै परिकार जीवनमा पहिलोचोटि देखें, यति धेरै पैसा बोकेको र खेलाएको पहिलोचेटि देखें । म हराउन थालें । घरमा बुबाममीलाई पनि यही कुरा भन्दै गएँ । उनीहरूको आँखामा हर्षका आँसु देखें ।
जब मैले पढाइ र स्वत्वको कुरा झिकें, घरको परिवेश, श्रीमान श्रीमतिको सम्बन्ध भिन्न बन्न पुग्यो ।
‘म एम.ए. मा नाम लेखेर आउनु पर्यो ग्लोबल क्याम्पसमा ।’ सौम्य तरिकाले श्रीमानलाई भनें एक दिन ।
‘म यातायात व्यावसायी । घर मेरो डेरा जस्तै हो । मेरा बुबा आमाको रेखदेख गर्ने कोही छैन । तिमी छौ र पो म हिंडन पाएको छु । यो सब उहाँहरूको आशिर्वाद र हाम्रो मेहनतले भएको हो । तिमीले एम.ए पढेर कमाउने चालिस हजारको जागिर ठुलो होइन । अरबौंको सम्पती र यसका जननी मेरा बाआमा ठुला हुन् भन्ने लाग्छ । तिमीलाई म महिनै पिच्छे पचास हजार पकेट खर्च दिन्छु बाँचुन्जेल ।’
‘हजुरलाई सधैं पैसा माग्न पनि अप्ठेरो हुन्छ । मलाई स्वाभिमानी हुन दिनोस ।’
‘तिमीलाई थाहा छैन, पैसा नै स्वाभिमान हो ।’
‘भ्रम हो यो हजुरको । तपाई सधैं घर छोडेर हिड्नुहुन्छ । म पनि बुबाआमाबाट समय निकालेर बाहिर काम गर्न चाहन्छु । लेख्न चाहन्छु । सामाजिक बन्न चाहन्छु ।’
‘तिमी यस घरकी बुहारी बन्नु नै सामाजिक हुनु हो । म संग समय छैन । तिमीले यो घर सम्हाल्नु पर्छ । मेरा बाआमा सम्हाल्नु पर्छ, अरू कुरा अहिले नगरौं, मिमांसा, प्लीज ।’
‘मलाई बिहे गरेर कानूनी रूपमा कामदार ल्याएको पनि होइन होला । फेरि यहाँले कहिल्यै सोच्नुभयो म यहाँ की श्रीमती हुँ भनेर ?’
‘के बकबास गरेकी, हँ ? एक हजार मान्छे जन्ती गएर तिम्लाई ल्याएको मैले । कति मान्छे भोकै पनि फर्केका होइनन् ? नगरपालिकामा हाम्रो बिहे दर्ता गरेको होइन ? फेरि के को रडाको ?’
‘वा, श्रीमान ज्यू । तपाईकी म श्रीमती । कागजकी । तपाईलाई घर त डेरा भयो भयो । ठिक छ । तर घरमा पूर्ण चेतनामा आउनु पर्दैन ? दिनै पार्टीको नामले बेहोसमा आउने ठाउँ हो यो घर, महोदय ?’
‘यत्रो एक सय वटा गाडीको मालिक दुध पिएर घरमा आउँछ त ? साथी भाईलाई खुशी पार्न पनि अलिअलि त पिउनै पर्छ !’
‘त्यो पनि ठिक छ । पिएर मात्रै आउँदा त । चिसो भएको अण्डरबेयर लगाएर घरमा आएको चाहि ?’ म अब मुख छाडने स्थितिमा पुगें ।
‘ननसेन्स ।’
‘के ननसेन्स ? यु ननसेन्स । के हो त्यो चिसो चिज ? मै भन्दिन्छु, त्यो मौसुफकै बीर्यको रहलपहल भाग । अनि किन घर आइरहनु पर्यो सबैकुरा बाहिर मिलेपछि ?’
‘बकवाद।’ यति भनेर उनी हिंडे ।
अनि झनै उनको घरको आगमन पातलिन थाल्यो ।
म तलव नपाउने हाउस किपर बनें । बुढाबुढीको हेरचाह गर्ने नोकर्नी । म इजरायल गएकी कामदार भएँ । तर पैसा नपाउने ।
म एक्ली भएँ । नितान्त ।
अनि पुराना यादहरूमा समाहित हुन पुग्न थालें, आफैँलाई निफन्न थालें । केलाउन थालें । तर जीवनको बियाँ र चामल एकै ठाउँमा आए, छुट्टिएनन् ।
फेसबुकमा मेरो लामो समय बित्न थाल्यो ।
मैले उनै क्षितिज सरलाई फ्रेन्डएड गरें । उहाँले पनि तुरून्तै अक्सेप्ट गर्नुभयो ।
सर र बिध्यार्थी अव फ्रेन्ड पनि भइयो ।
विनिर्माण भयो पुरानो शिक्षक बिध्यार्थीको साइनो । मेरो जीवनको यो चौथो आयामको प्रस्थानविन्दु थियो ।
उहाँ किन हो कुन्नी औधी खुशी देखिनुभयो । मुस्कुराएका मात्र फोटाहरू म्यासेञ्जरमा हाल्न थाल्नुभयो ।
मैले रिट्ठो नबिराइकन तिनीहरूलाई रेस्पोन्स दिन थालें, लाइक र कमेन्ट गरिदिन्थें । उहाँले भने मेरा पोष्टहरूलाईे लाइक बाहेक केही पनि गर्नुभएन ।
उहाँ म्यासेन्जरमा बोल्न चाहनुहुन्थ्यो ।
केही खुलेर बोल्न थाल्नु भएको थियो ।
‘मैले केटाकेटी पढाएको दश बर्ष भयो । यस्तो फिल कहिल्यै भएन ।’
‘कस्तो फील ? किन ?’ मैले सोधे ।
‘त्यो भाषाले ब्यक्त गर्न सक्दैन । यो खुसीको अनुभुति पहिलो चोटि भएको छ । मन थुनिएको छ । किन कि मैले आफ्नै बिद्यार्थीलाई यसरी लेखेको यो पहिलो अनुभव हो ।’
‘हो र, सर ? मैले पनि आफ्नै गुरूलाई यसरी लेखेको यो पहिलो अनुभव हो । अप्ठेरो त लागिराखेकै छ । हजुरको कक्षाका दिनहरू झल्झली आइरहेका छन् । कति अशल मान्छे हुनुहुन्थ्यो, हजुर ! मन सिरिङ्ग हुन्छ ।’
‘म त झन् उकुसमुकुस हुन्छु तिम्रो फोटो देख्दा ।’
‘हो र ? तर म त ज्वारभाटाले किनारकाकृत गरेका र छालले बारबार हानेर चिच्याइरहेका गिटी जस्तै छु भन्ने लाग्छ ।’
‘होइन । तिमी फूल हौ ।’ उहाँले लेख्नु भयो ।
‘तर फूलको मूल्य मन्दिरमा जानु अघि हुन्छ । मन्दिरमा चढाइसकेपछि त त्यसलाई रद्धीको टोकरीमा फ्याकिन्छ ।’
‘तर तिमी त सजिएकी छौ, फ्याकिएकी होइन । तिम्रा फोटाहरूले त्यही भन्छन् ।’ उहाँमा निर्धक्ता प्रकट हुन थालेको थियो ।
अनि म मा पनि निर्धक्कता अँकुरिन बाँकी रहेन । सबै सीमाहरू भत्किन थाले । मैले आफ्ना सिमानाहरूलाई एउटा पुरूषसंगको संवेगात्मकतामा फिउजन गर्न खोज्थें, तर सक्दिनथें । तैपनि फोटा हाल्थें म्यासेन्जरमा उहाँलाई देखाउन ।
‘राम्री छौ ।’ उहाँले कमेन्ट गर्नु हुन्थ्यो ।
‘यो राम्री हजुरकी …… ।’
मिठा कुराकानी हुन्थे । मुहार पुस्तिकाले साथी भने पनि हामी अझै पनि सर र विध्यार्थी नै थियौं ।
उही क्याम्पसमा पढ्दाका समयहरू निफनिन्थे । केलिन्थे । मेरो विस्मृतिमा भएका कयौं विषयहरू स्मृतिमा ल्याइदिनु हुन्थ्यो उहाँले ।
यहीँबाट मैले गजल लेख्न सिकें । कथा बनाउन सिकें । अथवा, जीवनको परिभाषा सिकें ।
उहाँबाट धेरै कुराहरूको दीक्षित भएकी म क्षितिज सरको यो समाजिक सञ्जालको समीप्यता मेरो जीवनको एक अभिन्न अङ्ग बनिसकेको थियो ।
त्यस बेलुका म सासु ससुरालाई खाना खुवाएर, घरको काम सकेर केही बेर टिभी हेरेर सुतेँ । मोवाइल चलाउन मन लागेन । सञ्चो पनि थिएन ।
उठेर घरको बिहानको काम सकेपछि मोवाइल खोल्दा म तिन घुघुत्ती खेलें ।
सरको म्यासेन्जरबाट यस्तो सन्देश लेखेर मलाई सेन्ड गरिएको थियो, ‘बेस्या रहिछौ तिमी । पुरूष त पुरूष भए, ती बाइन्डिङ्ग खुस्किएका कितावका पाना हुन् । ती छरपस्ट हुन्छन् । तर महिला त खुस्किएका पाना होइनन् नि ! खै तिम्रो त्यो चरित्र ? आफ्नै सर, त्यसमा पनि अर्काको लोग्नेसंग मच्चिएर गफ हान्ने अनि आफ्नै लोग्नेलाई खुसी पार्न नसक्ने चरित्रहीन र अराजक नारी हौ तिमी । अव उप्रान्त यहाँ लेख्न नपाउने गरी तिमीलाई ब्लक गरेकी छु । यो लेख्ने मान्छे सरकी अर्धाङ्गिनी हो, बुझ्यौ ? पहिला श्रीमती बन्न सिक ।’
मेरा सारा अवयवहरू स्तब्ध भए ।
तैपनि मैले तत्कालै सरलाई क्षमायाचनाका लागि म्यासेन्जरमा सन्देश लेखें, तर सन्देश गएन । परिणाम, म ब्लक भइसकेकी थिएँ ।
अब मेरो जीवनको अर्को आयाम सुरू भयो भन्ने लाग्यो, र त्यो हो मोहदंश । साहित्य अभिव्यञ्जना तथा मित्रता माथिको मोहदंश । वैवाहिक जीवनको मोहदंश । भौतिक सम्पन्नताको मोहदंश । अनि जीवनको यो मोहदंशको कालखण्डको अबको अकल्पनीय आयाम मेरै अगाडि दौडिरहेको देखिरहेकी छु अहिले । अथवा, स्वप्नदंशको आयाम ।


बाँस्कोटा धनञ्जय, दमक, झपा
[email protected]