निबन्ध
तनहुँ ।
‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नाराका साथ गण्डकी प्रदेश आख्यान महोत्सव दमौलीमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको सहआयोजनामा शनिबार आयोजित महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका आख्यानकारहरूको सहभागिता रहेको थियो । मनाङ जिल्ला बाहेक अन्य सबै जिल्लाका साहित्यकारहरूको प्रतिनिधित्व उक्त महोत्सवमा देखिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा सम्पन्न महोत्सवमा गण्डकी प्रदेशको आख्यानको इतिहास, आख्यानको आविष्कार, नलेखिएका कथा, पाँच कथाकारका पाँच कथा र ‘मर्यादा’ नामक नाटक प्रस्तुत गरिएको थियो । डा. षणानन्द पौडेलले गण्डकी प्रदेशको आख्यानको इतिहासबारे प्रवचन दिनुभएको थियो भने उक्त प्रवचनमाथि व्यास अध्येता काशीनाथ न्यौपाने, साहित्यकार अम्बिका भट्टराई लगायतले जिज्ञासा राख्नुभएको थियो ।
महोत्सवको दोस्रो चरणमा ‘आख्यानको आविष्कार’ विषयक बहस भएको थियो। प्राध्यापक डा. अशोक थापाले सहजीकरण गरेको उक्त बहसमा अमर न्यौपाने, प्रभा बराल, गणेश पौडेल, बन्धुराज अधिकारी लगायतले आख्यानको सैद्धान्तिक पक्ष र परम्पराबारे आफ्नो धारणा राख्नुभएको थियो। तेस्रो चरणमा ‘नलेखिएका कथा’ विषयक कार्यक्रममा रूपेन्द्र प्रभावी कटु, अन्जना पौडेल, नारायण मरासिनी, विद्या ढकालले समाजका नलेखिएका कथाहरू उजागर गर्नुभएको थियो ।
चौथो चरणमा रमेशचन्द्र घिमिरे, देवी बहादुर बस्नेत, अजयमिलन श्रेष्ठ, टुकादेवी आचार्य, भीम रानाभाटले हाउभाउसहित कथा वाचन गर्नुभएको थियो । मुस्ताङका साहित्यकार बसन्त शेरचनले उक्त कथाहरूमाथि प्रतिक्रिया दिनुभएको थियो । अन्तिम चरणमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले ‘मर्यादा’ नामक नाटक मञ्चन गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेले नलेखिएका कथाहरू खोज्न प्रतिष्ठान विभिन्न प्रदेश तथा जिल्लामा पुगेको बताउनुभयो । उहाँले नेपाली साहित्य र लोपोन्मुख भाषा संरक्षणका लागि प्रज्ञा प्रतिष्ठानले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष बालहरी अधिकारीले कार्यक्रम सञ्चालन गर्नुधएको थियो भने दिवाकर भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो ।
