समाचार

राप्ती ।
‘राप्ती साहित्य परिषद् दाङ शाखा’ ले नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ८०औं श्रृङ्खलामा साहित्यकार महेशकुमार न्यौपानेको रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख अतिथ्यमा तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैँया विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
कवि न्यौपानेले विभिन्न शीर्षकका गद्य र पद्य गरी १४ कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पोखराकी गोमा पराजुलीले शुभकामना मन्तव्य राखेकी थिइन्। प्रमुख अतिथि रहेका वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा तथा विशिष्ट अतिथि वरिष्ठ साहित्यकारद्वय पुरुषोत्तम खनाल र उत्तमकृष्ण मजगैँयाले न्यौपानेको कवितामाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्य शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गरेका थिए । संस्थाको तर्फबाट साहित्यकार महेशकुमार न्यौपानेलाई प्रशंसापत्रले सम्मान पनि गरिएको थियो ।