• २०८२ आश्विन २२, बुधबार

उषा के. सी. को “हिउँफूल“ उपन्यास सार्वजनिक

काठमाडौंमा ।

उपन्यासकार उषा के. सी. को “हिउँफूल“ उपन्यासको लोकार्पण कार्यक्रम सम्पन्न गरेको खबर छ । लोकार्पण प्राडा दयाराम श्रेष्ठ सहित कवि कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमानसिंह कार्की ,साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले गरेका थिए ।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल साहित्यमा स्थापितदेखि नवोदित स्रष्टाको बाक्लो उपस्थिति रहेको थियो । लेकालीले उपन्यासकार के. सी. र संघको परिचय राखेर स्वागत गरेका थिए । प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ रहनु भएको कार्यक्रममा प्रमुख वक्ता समालोचकद्वय प्रमोद प्रधान र गीता त्रिपाठीले समालोचनात्मक टिप्पणी राखेका थिए ।

प्रमुख अतिथि एवम् भूमिका लेखक प्रा. डा. दयाराम श्रेष्ठले यो मौलिक सामाजिक उपन्यास हो । जसरी हामीमा आफ्नो बाबु र आमाको अनुहार मिल्छ त्यसैगरी यो उपन्यास पुरानो रुपमतीको पुनर्जन्म भएको हो भनेर सभालाई प्रकाश पारेका थिए । उपन्यासकार उषा के. सी.लाई अध्यक्ष र प्रमुख अतिथिबाट बधाईपत्र, मायाको चिनो, दोसल्ला र माला लगाएर स्रष्टा सम्मान गरिएको थियो ।

अर्को भूमिका लेखक वरिष्ठ समालोचक प्रमोद प्रधानले यो उपन्यास पढेर भूमिका लेख्नु अगाडि तीन पटक पढें र म आफू तीन पटक नै रोएँ । कथा पाठकलाई यसरी तान्दछ कि कति बेला आँसु खस्यो पत्तो नै हुदैन । यो सामाजिक उपन्यासमा लैंगिक विभेदलाई जस्ताको तस्तै उतारिएको बताएका थिए । उक्त उपन्यासको आवरण चित्र बनाउनु हुने कलाकार नरेन्द्रबहादुर श्रेष्ठ जो साहित्यिक पत्रकार संघका पूर्व अध्यक्षले धन्यवाद दिएका थिए ।

उपन्यास समाज नेपालका अध्यक्ष साहित्यकार शंकर भारतीले हिउँफूल पढ्न पाएको छैन, यति राम्रो छ भन्ने सुनेपछि समाजले परिचर्चा गर्न आतुर रहेको कुरा बताएर शुभकामना दिएका थिए यसैगरी उपन्यासमा भूमिका लेख्ने कवि एवम् पत्रकार जितेन्द्र रसिकले पनि केसीलाई शुभकामना दिएका थिए । उपन्यासकार स्रष्टा केसीले आफू एसएलसी दिएदेखि नै उपन्यास धेरै मन पर्ने र कथानक धेरै पहिलादेखि नै तयार गरेको, पारिवारिक घटना आफन्त गुमाउनुको पीडा र आफै बिरामी भई प्रकाशनमा ढिलो भएको र यो उपन्यास पढेर सल्लाह सुझाव दिने सबैलाई धन्यवाद दिएकी थिइन् ।

भुँडीपुराणले उपन्यास प्रकाशन गरी बजारमा ल्याएको हो । प्रकाशक केशव पराजुलीले हामी मान्छेको नाम नहेरी कृतिलाई महत्त्व दिने गर्दछौं ।उपन्यासकार केसीलाई चित्त बुझ्ने बनाउन धेरै पटक फेर बदल गर्नु परेकोले पनि उपन्यास कति राम्रो छ भन्ने प्रष्ट बुझिनेछ भन्ने बताएका थिए । पुस्तकको मूल्य ४९०/- रहेकोमा विशेष छुटमा ३००/- मा बिक्री गरिएको थियो ।