वसन्तवेला

शिखरजी !
नाम जस्तै लोभलाग्दो छ
तपाईंको अग्लो कद,
हेर्न लायक ठाँटबाँट,
निधारमा चम्किरहेको सूर्योदय,
टलक्क टल्केको वजनदार व्यक्तित्व ।
तपाईंका पछिपछि
विश्वासका अनगिन्ती पाइलाहरू !
तपाईंको गोलो अनुहारमा
रंगिन गगल्स,
डम्म परेको जिउडालमा
टपक्क मिलेको लबेदा–सुरूवाल,
परिस्थितिलाई अनुकुलतामा बदल्ने
अद्भुत चातुर्यता
समयलाई वशीभूत पार्ने
नव–धनाढ्य रोब र ज्यामितीय वर्गान्तर ।
तर, शिखरजी,
फड्को मार्नुअघि
एकपटक सोच्नुहोस्
तपाईंका सांघातिक पाइला
कसैको पीडामाथि टेकिएका त छैनन ?
तपाईंको हिँडाइले
कतै पुरानै खाडल त विस्तारित बन्दैछैनन ?
तर फुकाल्नुहोस् चस्मा
आँखाबाट।
ओठमा टाँसिएको
एक्लो वीरको कटु मुस्कान
र मिसिनुहोस् सामान्य भीडमा
तपाईंका
बिनाचस्माका आँखाहरूलाई
सम्झँदैछन् कि बिर्सिसके
सीमान्त किनारका ती बिम्बहरूले ?
हेर्नू छ-
तपाईंलाई
घोडाबाट ओर्लेर भीडमा मिसिएको,
र भीडमा
तपाईं रहनुहुन्छ
कति अग्लो ? कति सग्लो ?
हेर्नु छ-
भीडमा मिसिदा
कस्तो देखिन्छ तपाईंको रङ्ग ?
त्यो उचाइ
तपाईं आफ्नै थियो कि
चढ्नु भएको थियो अरू कसैको काँधमा ।
र, अन्तिम चोटी हेर्नू छ
चस्माभित्रको अनुहार
हिजोको जस्तै छ कि
छ परिवर्तन भइसकेको ।।
दीपक चौलागाईं