समाचार
रोल्पा ।
रोलपाली कवि समीप बैरागीको नेपाली कवितासंग्रह ‘साहीमासा’ सार्वजनिक गरिएको छ । रोल्पाको थबाङ गाउँपालिका ३ स्थित मिरुल गाउँमा जन्मेका बैरागीले यसअघिसम्म आफ्नै समुदायका सुखदुःख आफ्नै भाषामा मात्रै लेख्दै आएका थिए । ‘साहीमासा’ बैरागीको नेपाली भाषाको पहिलो कविता कृति हो । यसअघि उनका तीन वटा पुस्तक प्रकाशित छन् । जिन्दगीला यम (जिन्दगीको बाटो) मुक्तक संग्रह, हुरो युङ (दुस्खेको मुटु) खण्डकाव्य र पार्सी हाइकुसंग्रह उनका अघिल्ला पुस्तक हुन् ।
कुनैबेला माओवादी संलग्न जलजला सांस्कृतिक कलाकार संगठनमा आवद्ध उनले गितार बजाए, गीत लेखे र गीत पनि गाए । तर तिनै स्रष्टाले गत बुधबार कविता संग्रह लिएर आएका हुन् । ‘साहीमासा’ को अर्थ उनकै मातृभाषामा अर्थ हुन्छ– मगर समुदायमा प्रेमविवाहका निमित्र् केटाले केटीलाई फकाउन गोप्य रुपले दिने रकम ।
पुस्तकबारे केहीअघि काठमाडौंको प्रज्ञा-प्रतिष्ठानमा समालोचना र सार्वजनिक गर्ने क्रममा कवि स्वयं र अन्य साहित्यकारले टिप्पणी गरेका थिए । त्यस कार्यक्रमको आयोजना रोल्पा कला साहित्य प्रतिष्ठानले गरेको थियो । वरिष्ठ कवि श्रवण मुकारुङले बैरागीले मातृभाषी कविले नेपाली कविताको क्षेत्रमा भिन्न खालको पहिचान खोजेको उनको टिप्पणी थियो । कवि एवं लेखक नवीन विभासले पनि कविले ‘साहीमासा’मार्फत जीवन संघर्ष र राजनीतिक चेतनाको उच्च रुप लिएको बताए । उनले पुस्तक पृथक र वजनदार भएको बताए ।
