समाचार

काठमाडौं ।
कथाकार शुभचन्द्र राईको दोस्रो कथासंग्रह “समयले जन्माएका कथाहरू” सार्वजनिक भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ–३ मा रहेको मुन्दुम सांस्कृतिक प्रतीक स्वालेवा स्तम्भ पार्कको उद्घाटन समारोहमा कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय सांसद रामहरि खतिवडा, संविधानसभाका सभासद् यज्ञराज सुनुवार, राष्ट्रगानका रचनाकार व्याकुल माइला र वाम्रास संस्थाका अध्यक्ष गजुरधन राईले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो ।
ओखलढुंगाको वामद्यालमा २०२४ सालमा जन्मिनुभएको राई वाम्बुले राई भाषाका लेखक पनि हुनुहुन्छ । उहाँको पहिलो कृति “ल्आकाचिम सारिङ्मो” (रातो भाले) २०६८ सालमा प्रकाशित भएको थियो । धरानमा हुर्केर शिक्षा हासिल गर्नुभएको राई २०४९ सालदेखि शिक्षण, सामाजिक सेवा र साहित्य सिर्जनामा सक्रिय रहनुभएको छ । हाल उहाँ बेलायतमा बसोबास गर्दै आउनुभएको छ ।
“समयले जन्माएका कथाहरू” मा ८६ वटा छोटा कथाहरू समावेश छन् । यी कथाहरूले पूर्वी नेपालको ग्रामीण परिवेश, गरिबी, लाहुरे जीवन र धरानको युवा जीवनमा देखिएका विकृतिहरूलाई चित्रण गर्दछन् । पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, जनयुद्ध र गणतन्त्रकालका घटनाहरूलाई पनि कथाहरूमा समेटिएको पाइन्छ । “फिस्टे कान्छाको दसैं बोनस,” “गाउँमा साकेला,” “बहिनीलाई चिठ्ठी,” “खोयाबिर्केको अपार लीला,” “पहाडे डाक्टर,” “राजनीति,” “नागरिकता,” “डलरको खेती,” “झाँक्री कान्छा,” “रातो भाले,” लगायतका शीर्षकहरूले कथाहरूको विविधता झल्काउँछन् ।
भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस कृतिको भूमिका राष्ट्रगानका रचनाकार व्याकुल माइला र लेखक अविनाथ राईले लेख्नुभएको छ भने भाषा सम्पादन पत्रकार गणेश राईले गर्नुभएको छ । लेखक राईले आफ्नो कृतिबारे भन्नुभएको छ, “समयले जन्माएका कथाहरू तत्कालीन समयको जिवन्त बिम्ब हुन् । धेरैजसो सत्य घटनाहरूलाई केही शृङ्गार गरेर कथाको रूपमा प्रस्तुत गरेको छु ।”