• २०८२ आश्विन २८, मंगलवार

नेपथ्यको अस्ट्रेलिया यात्रा क्यानबेराबाट आरम्भः पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड, मेलबर्न र सिड्नीमा समापन

क्यानबेरा ।

पहाड र हरियालीले घेरिएको क्यानबेरामा सोमबार साँझ नेपाली कलाप्रेमीको ठूलो जमघट भयो । नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’ मा नेपथ्य ब्यान्डको प्रस्तुतिले क्यानबेराको साँझलाई उल्लासमय बनायो । केही वर्षअघिसम्म यहाँ नेपालीको उपस्थिति नगण्य रहे पनि, नेपथ्यको लोकप्रियताले यहाँ ठूलो नेपाली समुदाय रहेको पुष्टि र्गयो । दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिए, जसले नेपथ्यको विश्वव्यापी आकर्षणलाई झल्काउँछ ।

६० को दशकदेखि अस्ट्रेलियामा विभिन्न विश्वप्रसिद्ध ब्यान्डका कन्सर्ट हेर्दै आएकी लिन्डा ट्रिगले १७ वर्षअघि सिड्नीमा पहिलोपटक नेपथ्यको प्रस्तुति हेर्नु भएको थियो र यो उहाँको छैटौँ नेपथ्य कन्सर्ट थियो । उहाँले नेपथ्यको संगीतको स्वाद चाखिसकेको बताउनुभयो । यसैगरी, हालै नेपालबाट फर्किनुभएको निवर्तमान अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले पनि आफ्नो पहिलो नेपथ्य अनुभव साँच्चिकै रमाइलो रहेको बताउनुभयो । उहाँले २०२१ को तिहारमा सुनेको ‘रेशम’ गीतले उहाँलाई नेपथ्यको संगीतप्रति आकर्षित गरेको थियो ।

‘कोशीको पानी’ बाट सुरु भएको कन्सर्टमा ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरी मरयो’, र ‘जोमसोमे बजारमा’ जस्ता नेपथ्यका चर्चित गीतहरू समावेश थिए । गायक अमृत गुरुङले आफ्नो ३५ वर्ष पुरानो गीत ‘आँगनैभरि’ गाएर दर्शकलाई भावुक बनाउनुभयो । उहाँले अस्ट्रेलियामा नेपालीहरूको संघर्ष र उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्दै नेपाली भाषा र संस्कृतिको संरक्षणमा जोड दिनुभयो । ‘शिरफूल’, ‘बिन्ती छ मेरो ए मेरी मायालु’, ‘पचासै वर्षमा जुग कहाँ पुग्यो’, ‘यो जिन्दगानी’, र ‘गाउँ–गाउँबाट उठ’ जस्ता गीतहरूले कन्सर्टलाई झन् रोमाञ्चक बनाएको थियो ।

कन्सर्टमा दर्शकको उत्साह देखेर राजदूत भोल्क पनि नृत्यमा मग्न हुनुभयो। उहाँले नेपथ्यको प्रस्तुतिले आफ्नो उत्साहलाई नयाँ उचाइमा र्पुयाएको बताउनुभयो र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा आफ्नो निरन्तर प्रयास रहने बताउनुभयो। अर्को अस्ट्रेलियन कूटनीतिज्ञ लिन्डाले नेपथ्यको प्रस्तुतिमा आएको निखार र विश्वस्तरको गुणस्तरको प्रशंसा गर्नुभयो ।

नेपाली दर्शकहरू पनि कन्सर्टबाट निकै खुसी देखिनुहुन्थ्यो । आठ वर्षदेखि अस्ट्रेलियामा बस्दै आउनुभएको अनु थापाले नेपथ्यको कन्सर्टले नेपालीपनको अनुभूति दिलाएको बताउनुभयो । कार्यक्रम आयोजक प्रदीप पाठकले सबै सहयोगीलाई धन्यवाद दिनुभयो । नेपथ्य ब्यान्डको यो अस्ट्रेलिया यात्रा क्यानबेराबाट सुरु भई पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड, मेलबर्न र अन्तिममा सिड्नीमा समापन हुनेछ ।