• २०८१ मंसिर २९ शनिवार

ओझाको बेग्लै आकाश र प्याकुरेलको खटप्वाल उपन्यास लोकार्पण

काठमाडौँ ।

साहित्यकार धनेन्द्र ओझाको कृति ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलको ‘खटप्वाल’ उपन्यास लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा जीवनी र व्यक्तित्व समेटिएको कृति ‘बेग्लै आकाश’ को लोकार्पण पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, पूर्व मुख्यसचिवहरू विमल कोइराला, भोजराज घिमिरे, डा. कृष्णहरि बराललगायतका स्रष्टाले संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । कृतिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित पूर्व मुख्यसचिव, सचिव र साहित्यकार गरी १४ जना स्रष्टाको जीवनी र व्यक्तित्व समेटिएको छ ।

यसैगरी प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’को साहित्यकार रमा शर्मा र गीतकार यादव खरेलले लोकार्पण गर्नुभयो ।उपन्यास ‘खटप्वाल’मा समाजमा हुने विविध घटनाहरूलाई यथार्थ रुपमा चित्रण गरिएको पुस्तकका समीक्षक डा. अशोक थापाले बताउनु भयो ।यसअघि प्याकुरेलको झुल्या कागज नामक कथासङ्ग्रह प्रकाशित भइसकेको छ । पेजटर्नर प्रकाशन प्रालिको वार्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रममा साहित्यिक अनलाइन पोर्टल निरुपण डक कम र अङ्ग्रेजी बालपत्रिकाको अनलाइन पोर्टलको समेत शुभारम्भ गरिएको छ ।अनलाइन बालपत्रिकामा बालबालिकाका लागि लक्षित गरेरर विषयवस्तु समावेश गरिने र यो नेपालको पहिलो अनलाइन बालपत्रिका रहेको प्रकाशनका अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो ।