समाचार

काठमाडौं ।
संगीतकर्मी सत्यराज आचार्य ‘सराज’को हाइकुसंग्रह ‘१४ फागुन’ लोकार्पण गरिएको छ । दिवंगत भजनशिरोमणि भक्तराज आचार्यका जेठा छोरा सत्यराजले पिताको पहिलो वार्षिकीको पुण्यतिथिको अवसर पारेर बुधबार महाशिवरात्रिको दिन जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहबीच उक्त लोकार्पण गर्नुभएको हो । यस साहित्यिक कृतिको दाजु(भाइ सत्यराज र स्वरुप आचार्यका छोरा संगीत र सर्गम आचार्यले विमोचन गर्नुभएको थियो ।
जुन् दिन पिताले संसार त्यागे, त्यही दिनको सम्झनासहित त्यही मिति शीर्षक राखेर सिर्जित यस यो पुस्तकमा ८२ वटा हाइकु समावेश छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार पुस्तकमा समावेश प्रत्येक हाइकु १७ वटा अक्षरका छन् । सो अवसरमा आचार्यले पुस्तकमा समावेश भएका १८ वटा हाइकु वाचन गरेर सुनाउनुभएको थियो । ‘हामीले जुन कल्पना लिएर यो किताबको तयार गरेका छौं, त्योभन्दा राम्रो हुन्छ भन्ने पनि अपेक्षा लिएका छौं,’ लोकार्पणका अवसरमा लेखक आचार्यले भन्नुभयो ।
कार्यक्रममा सहभागी वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले भजन शिरोमणि भक्तराज आचार्यद्वारा नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँका सुपुत्रद्वय सत्यराज–स्वरुपराजमा ‘हुने बिरुवाको चिल्लो पात’ को गुण रहेको स्पष्ट पार्नुभयो । उहाँहरू दुवै बाल्यकालदेखि नै बहुप्रतिभाशाली व्यक्तित्व भएको पनि शम्भुजितले स्मरण गर्नुभयो ।
समारोहमा कवि विप्लव प्रतीकले सत्यराजको हाइकु लेखनका बारेमा चर्चा गर्दै ‘१४ फागुन’मा धेरै राम्रो विषय समावेश भएको बताउनुभयो । ‘सत्यराजबाट म पनि प्रेरित छु, उहाँले तयार पारेका पुस्तिकाहरू निकै सन्देशमूलक हुन्छन्’ उहाँले भन्नुभयो । यस्तै, कानुनविद् भीमाजुन आचार्य (अर्जुन मिलन) तथा कवि रवि प्राञ्जलले पनि सत्यराजलाई बहुप्रतिभाशाली व्यक्तित्व भएको चर्चा गर्दै हाइकु संग्रहमा समावेश भएका हाइकुहरूको बारेमा टिप्पणी गर्नुभएको थियो । बुकहील पब्लिकेशनले प्रकाशन गरेको यस पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।