• २०८२ आश्विन ६, सोमबार

विकृत प्रदूषण

कात्यायन

कात्यायन

“हेर त उभोँ !” आवाज आयो ।
हेरेँ आकाशमा । चरा-चुरुङ्गीहरू नाच्दै, गाउँदै थिए लय मिलाउँदै ।
“उँधो हेर त !”
हेरेँ जमिन । चिरा-चिरा थियो; चर्किएको; भताभुङ्ग ! कोलाहल ! भयग्रस्त !
त्यही बाँझो खाडलतिर खिच्दै भनिन्, “आऊ माया गरौँ ! पटबाँझो धरालाई हराबरा बनाऔँ !”
बहकिन चाहेको मन लुकाउँदै, कुपोषणले जीर्ण र जुम्सो भएका अङ्गहरू तेर्साएँ ।
“खै आफन्तहरू ?”
अमानवीय चिहान बन्दै गरेका बस्तीहरूतिर औँला तेर्साएँ ।
उनले भनिन्, “गीत गाऊ !”
आतङ्कित हुँदै भनेँ, “जिब्रो थुतियो भने ?”
उनले आकाशतिर देखाईन्, “चराहरू गाइरहेछन् ।”
मेरो मौनतालाई समर्थन गरे झैँ गरेर, फेरि थपिन्, “उनीहरू स्वतन्त्र छन् हो ?”
मैले, मेरो ठुटिँदै गएको जिह्वा देखिने गरी हाब्रो बाएँ ।
उफृँदै गरेका पाठाहरू देखाउँदै भनिन्, “आऊ, रमाउँ थप्पडी बजाउँदै !”
मैले पिठ्युँ फर्काएँ हतकडी देखाउँदै ।
“उफ्र ! पाकेको फल झारौँ !”
उत्तानो परेर नेल तेर्साएँ ।
थाकिन् कि क्या हो उनी ! चिच्याईन्, “शिर त उचा देखाऊ ! आँखा जुधाऊ मसङ्ग !”
गलफन्दीको झङ्कार सुनाएँ ।
“ल भैहाल्यो ! आऊ, केहीबेर शिला बनौँ !”
खितखिताउन पुगेँ म ।
सोधिन् फेरि, “के भयो ?”
मैले भनेँ, “गौँथलीहरू देखिन छाडे ।”
उनले पुनः सोधिन्, “के तिमीले मलाई देखिरहेछौ ?”
“नाइँ छैन ।” मुन्टो हल्लाएँ ।
“के तिमीले आफूले आफैँलाई देखिरहेछौ ?”
कनीकुती बुझाएँ, “कुहिरीमण्डल छ, कसरी देख्नु ?”
उनले मलाई विस्फोटक अमोघ अस्त्र दिँदै भनिन्, “ल लाऊ, लिऊ यो जन-दण्ड, विद्यमान सम्पूर्ण विकृत प्रदूषणमा प्रहार गर !”


कात्यायन
चाबहिल, काठमाडौं – ७