• २०८२ आश्विन २९, बुधबार

भोज अर्यालको ‘सेता भिर यता पीर’ विमोचन

काठमाडौं ।

लेखक साहित्यकार तथा हास्य व्यङ्ग्यकार भोज अर्यालद्वारा लिखित कवितासङ्ग्रह ‘सेता भिर यता पीर’ काठमान्डौमा यही मंगलवार बिमोचन भएको छ । काठमाडौंमा आयोजित एक समारोहका बिच उक्त पुस्तक विमोचन भइ अब बजारमा उपलब्ध हुने कुरा साहित्य पोष्टका प्रधान सम्पादक आश्विनी कोइरालाले बताउनु भयो । भाषा आयोगका सदस्य मातृकापोखरेल, साहित्यपोष्ट अग्रेजीका सम्पादक तथा त्रिभुवन विश्वविद्यालय अग्रेजी विभागका उपप्रध्यापक महेश पौडेल, तथा साहित्य पोष्ट अङ्ग्रेजीका सल्लाहकार तथा सम्पादक शरद प्रधानले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

कार्यक्रमको शुरुमै आयोजकको तर्फबाट प्रधान सम्पादक आश्विनी कोइरालाले स्वागतमन्तव्य राख्नु भएक थियो । पुस्तकको समीक्षा गर्दै वक्ताहरुले आआफ्नो धारणा राख्नु भयो । उहाँहरुले विगत लामो समय देखि क्यानाडामा बस्दै आएका लेखक अर्यालले कविता मार्फत उठाएका विषयहरुले नेपाली जनजनको मनमा बस्न सफल हुने कुरा बताउनु भयो । आफू भौतिक रुपमा टाढा रहेता पनि आफूले देखे भोगेकै झैं गरि कृतिमा झल्किने भावहरु मर्मस्पर्शी रहेको कुरा उहाहरुले व्यक्त गर्नु भयो ।

कविता सङ्ग्रहमा समसामयिक बिषय समेट्दै हास्य व्यङ्ग्यात्मक रचानाहरु पनि उल्लेख्य मात्रमा छन् । त्यसैगरि मानिसहरुले झेल्नु परेका भौगोलिक तथा दैविक कठिनाइका क्षण लगायत सामाजिक तथा आर्थिक चुनौतिका आवाज पनि समेटिएका छन् । गाउँदेखि शहर हुँदै देश विदेश तथा मिलन बिछोडका मन छुने प्रसंगहरु समेत कवितामा समेटिएका छन् । सबै तह र तप्काका आवाजहरु कवितामा समेटिएका छन् ।

गुल्मी जिल्लाको मदाने ३, सिर्सेनीमा पुर्खौली घर भइ हाल बटवलका बासिन्दा भए तापनि अर्याल क्यानाडा कोरिजाइनामा स्थायी बसेबास गर्नु हुन्छ । स्कुले जीवनदेखि नै साहित्य तथा सृजनामा रुचि रहेका अर्याल कपिलबस्तु बहुमुखी क्याम्पसमा पढ्दा समेत साहित्यिक गतिबिधिहरुमा सक्रिय रुपमा लाग्नु हुन्थ्यो । कपिलबस्तु साहित्य समाजसँग पनि उहाँको लामो समय निकटतम सम्बन्ध थियो ।

लामो समय शिक्षण पेशामा आवद्ध रहेका भोज अर्यालको क्यानाडामा पनि सामुदायिक गतिबिधिमा सक्रियता रहँदै आएको छ । उहाँ पछिल्लो समयमा साहित्य रचनामा सक्रिय रुपमा लाग्नु भएको छ । हालसम्म उहाँका दुइ दर्जन बढी लेख तथा रचनाहरु प्रकाशित भएका छन् । कविता, कथा लगायत हास्य व्यङ्ग्य शैलीमा निबन्धसमेत प्रकाशित छन् । यो नै अर्यालको पहिलो प्रकाशित कृति हो । साहित्य आफ्नो रुचिको विषय भएको र आगामी दिनमा समेत निरन्तरता रहने कुरा उहाँले सुनाउनु भयो ।