• २०८२ आश्विन २२, बुधबार

नासो मायाको

अनन्त राज बज्राचार्य

अनन्त राज बज्राचार्य

जाडो महिना भएकोले साँझको ६.०० बजे नै झ्याप्पै अँध्यारो भैसकेको छ । पर आकासमा सिङ्गो चन्द्रमा चम्किरहेको छ । पिक आवर भएकोले वायुसेवा निगमको मूख्य कार्यालय भवनको अगाडि रहेको बस बिसौनी देखि सुन्धारा कर्नरसम्म पनि मानिसको घुँइचो निकै छ । सबै आ-आफ्नो घर जान गाडिको लागि संघर्ष गरिरहेका छन् । सडकमा सवारीहरु धिमा गतिमा गुडिरहेका छ्न् । गाडिको आवाज, हर्न अनि त्यससंगै सडक पेटिमा राखिएका पसलेहरुको हल्ला बिच काठमाडौं मलको कफि सपमा किरण र जुनेली मौन बसिरहेका छन् । टेबुलको आमने-सामने बसिरहेका छन् तर एक अर्कासंग बोल्न दुबैले कुनै शब्द भेटाएका छैनन् । जुनेली टेबुलमा रहेको गिलास खेलाउन थाल्छिन् । किरण मोबाइल खेलाउँदै छन् । छिनछिनमा दुबै केही भन्न खोजे जस्तो एक अर्कालाई हेर्छन् । फिस्स हाँस्छ्न्। तर बोली फुट्दैनन् । त्यस्तो क्रम चलेको अलि समय भइसकेको हुन्छ। वेटर अर्डरको लागि अगाडि आइपुग्छ ।

सर, के लिनु हुन्छ ?
कफि दुई वटा गरिदिनु न । एउटा हार्ड, एउटा लाइट है !
अरु केही सर ?
अहिले यति नै …

सम्बन्ध टुटिसकेपछिको करिव ६ वर्ष पछिको भेटघाट हो त्यो । जुनेलीले गफ सुरु गर्न बिषय पाए जस्तै गरि खेलाइरहेको सिसाको गिलास दुबै हत्केला बिचमा रोल गर्दै भन्छिन् ।

अहिले पनि हार्ड कफि नै ?
मेरो च्वाइस चेन्ज भएको छैन । तिमीलाई लाइट मगाएं …
होइन ठिक छ ।

फेरि केही समय दुबै मौन । यतिबेला जूनेली आफ्नो चिउँडोलाई हत्केलाले आड दिंदै कुहिनाले टेबुलमा टेकेर चम्किरहेको चन्द्रमा एकनासले हेरिरहेकि छिन् । लाग्छ उनि आकासको एक्लो जूनसंग आफ्नो तुलना गर्दैछिन् । किरण टेबुलबाट उठेर नजिकैको टेबुलमा रहेको मेनु कार्ड लिएर आउँछ र फेरि त्यहिं आएर बस्छ । बस्दा कमिजको कलर भित्रबाट उसले लगाएको सुनको सिक्री बाहिर देखिन्छ । जुनेलीको आँखा किरणको कमिजको कलर भित्र गलामा टल्किएको सुनको सानो सिक्रीमा पर्छ । उनको मनमा कताकता चसक्क बिझे झैं हुन्छ । एकाएक मुहार मलिन हुन्छ । उनले मनमनै सोच्छिन् । कतै किरणले बिवाह पो गर्‍यो कि ! किरणको मुहारमा पुलुक्क हेर्छिन् र मनको कौतुहलता मेटाउन खोज्छिन् ।

म एउटा कुरा सोधौं ?
के कुरा ?

टेबुलमा रहेको खाली सिसाको गिलास खेलाउँदै गरेको हुन्छिन् जुनेली ।

तिमीले बिवाह गरेको हो ?

किरण केही बोल्दैन । लामो सास छोड्दै टाउको निहुराएर आफ्नो आँखा लुकाउँछ । किरणको आँखा अनायासै भरिसकेको हुन्छ ।

पिन्चे …

किरणलाई नर्मल बनाउन जुनेलीले योगेश्वर अमात्यको गीत गुनगुनाउँछिन् ।
लोग्ने मान्छे भएर रुनु हुन्न रे, मर्दको छोरोले आँसु झार्न हुन्न रे … आफै हाँस्छिन् । किरण पनि मुस्कुराउँछ्न् र हत्केलाले आँसु पुच्छ्न् । जुनेली टेबुलको न्यापकिन् दिंदै …

चल छोड् …! एनिवेज् … कङ्ग्राचुलेसन तिमिलाई ! … म एकदम खुसी छु तिम्रो लागि । कमसेकम अब तिमी एक्लो हुँदैनौं ।

यति भनिराख्दा जुनेलीले आफ्नो आँसु रोक्न पटक पटक प्रयास गरिन् । आँसु थाम्न र रुवाई रोक्न जुनेलीले आफ्नो ओठ धेरै पटक टोकिन् । आखिर मनै त हो कसरी मान्छ र ! उनको आँखा भरिएर आयो । स्वर काँप्न थाल्यो । जुनेलीले आफ्नो आँखामा टिल्पिलाएको आँसु न्यापकिन लिएर पुछिन् र आफू खुसी छु भनी देखाउन मन्द मुस्काउँछिन् ।

तिमी चाहिँ किन रोएको नि ?
छैन रोएको … … अलि गाह्रो हुँदो रैछ … (न्यापकिनले आँसु सोच्दै) लामो समयसंगै बिताएको मान्छे … एकैचोटी तिमी टाढा भए जस्तो फिल भयो … खैर भयो छोडिदेउ …

तिम्रो बुढिको फोटो देखाउँदै नौ ?

किरणले आफ्नो मोबाइलमा भएको फोटो देखाउँछ ।

यो जुनेली भन्दा त कति राम्री कति … म त फिक्का … नाम के नि ?
प्रास्ना …
यति राम्री बुढी पा छौ … खुसी पो हुनु पर्छ … एरेन्ज नै होला !
के फरक पर्छ र ? अनि तिम्रो के छ ? सुनाउ …
म इण्डियामा थिएं ।
इण्डियामा !
आएर पहिलो कल तिमीलाई नै हो …

कुरा अगाडि बढ्न नपाउँदै वेटरले कफि ल्याइपुर्‍याउँछ । जुनेलीले किरणको कपमा चार चम्चा चिनी राखिदिन्छिन् ।

मेरो बानी अहिलेसम्म याद छ ।
केही पनि बिर्सेको छैन । लेउ कफि …
तिमीले एकदम गलत गर्‍यौ काली …
तर म तिम्रो लागि खुसी छु । अब तिमी बिस्तारै सेटल हुन्छौ ।
अनि तिमी …?
(लामो सुस्केरा हाल्दै) मेरो के छ र … एक्लो ज्यान … जता लागे पनि भै गो नि …
किन त्यति निरास भा को ? उ आकासको चन्द्रमा हेर त । उ पनि एक्लो छ तर उज्यालो मुहार छ त । जुनेलीलाई सम्झाउँदै किरणले भन्छ ।

जुनेली फिस्स हाँस्छिन् ।
त्यो चन्द्रमालाई त उज्यालो दिने सूर्य छ । साथ पाएको छ उसले । खै मलाई साथ कसले दिन्छ  र म खुसी हुनु ?
कारण तिमी हौ … यो अवस्थाको … म टाढा गएको होइन काली … तिम्रै इच्छा थियो त … तिमिले हाम्रो सम्बन्धलाई नाम दिन चाहेनौ … खै किन हो … मैले त्यही गरें जे तिमिले चाहायौ … अनि किन दुखि तिमी !
म जस्तोलाई यस्तै हुनु पर्छ … सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन … भनेको हो रैछ । खैर बिर्सिदेउ पुराना यादहरु …

कफिको अन्तिम सीप खाँदै …
अब जाने होइन …
कता जान्छौ ?
केही दिन दिदि कहाँ बस्छु । अनि गाउँ जान्छु होला …
हामी फेरि भेट्छौं भोलि ?
खै हेरौं …
म कल गरौं …
तिम्रो बुढिले मार्ला नि …!

दुबै उठ्छन् । छुटिनु अगाडि जुनेलीले आफ्नो दुबै हात फिजाउँदै मनको इच्छा ब्यक्त गर्छिन् ।

मलाई एक पटक टाइट हग दिन्नौ काले पहिला जस्तै !

दुबै एक अर्काको अंगालोमा बाँधिन्छ्न् । किरणले जुनेलीको कपाल सुम्सुमाउँछ । जुनेलीले आँखाबाट बर्बरी आँसु झार्छिन् । लाग्छ उनलाई आफुले बिगतमा गरेको निर्णयबाट पछुतो छ र सच्याउन चाहान्छिन् ।

किरण ! आइ एम सरि ! मैले तिमीलाई धेरै दुस्ख दिएं । तिमीलाई यति नजिकबाट चिनेर पनि … आइ एम रियल्ली सरि काले !
अब निकै ढिला भैसक्यो काली … गाडी स्टेशनबाट छुटि सक्यो ।
हो … म छुटिसकें । अब गाडी भेटिन असम्भव छ ।

जुनेलीको अंगालोबाट छुट्टेर किरणले पकेटमा केही चिज झिकेर जुनेलीलाई दिन्छ ।
तिम्रो एउटा नासो छ म संग । लिएर जान्छौ ! किरणले उनिहरुको मायाको चिनो पहिला जुनेलीले नै दिएको औँठी उसैको हातमा राखि दिन्छ ।

यो औँठी तिमीले अहिलेसम्म राखी राखेको छौ ?
यु आर रियल्ली क्रेजी काले ! दुबै फेरि अंगालोमा बाँधिन्छन् । जुनेलीले कस्सिएर औँठी मुठिमा कस्छिन् -त्यो औँठी नै उसको जीवनको सहारा जस्तै गरि !


अनन्त राज बज्राचार्य