• २०८१ फागुन ६ मङ्गलबार

गोविन्द गिरी प्रेरणा

राजेन्द्र शलभ

राजेन्द्र शलभ

आमा घाँस काट्न गएको वेला
म जन्मेको हजुरआमाले भन्नुभा’को हो
दस सन्तानमध्ये म काइँलो
तर मैले थाहा पाएको पाँचजना मात्र हो
त्यसमा पनि आहिले त
दिदी र म दुई जनामात्र छौँ ।
साह्रै चकचके स्वभावको थिएँ म
र त्यो स्वभावैले गर्दा होकि
एक ठाउँ अडेर बसिरहन सक्तिनँ म ।
चौध सालमा सिस्नेरीको
टेक्कर गाउँमा जन्मिएँ
सात वर्षको उमेरसम्म त्यहीँको स्कुल
अनिपछि हेटौडा सरेपछि
भुटनदेवी हाइस्कुलमा पढेको हुँ ।
सानोमा ‘बाँदरे’ कन्दमूल
र ‘मुसलिँडी’ भन्ने फल र
हाफ छुट्टी हुँदा खोलामा माछा मार्ने
र त्यहीँ पोलेर खान्थ्यौंँ
माछा बढी खाएरै होला
सबैले मलाई खानै जन्मेको भन्थेँ ।

००
२०२३ देखि ०३१ सालसम्म
हेटौडाको स्कुल पढेंँ र एसएलसी दिएँ
पढ्नमा म राम्रै थिएँ
माइकल भन्ने ‘पिसकर’ ले अङ्ग्रेजी पढाउँथे
एसएलसीको रिजल्ट नआउञ्जेल
त्यहीँको स्कुलमा पढाउने काम गरेँ ।
रिजलट आएपछि काठमाडौँ आएँ
पहिले थापाथलीमा ‘इन्ट्रान्स परीक्षा’ दिएँ
तर भर्ना हुने पैसा नपुगेर छोडेँ
पछि कमर्समा भर्ना भएँ- पाटन क्याम्पसमा
त्यतिवेला मानभवनमा थियो क्याम्पस
पछि आएर मीनभवनमा सरेको हो
त्यही क्याम्पसबाट नै मास्टर्स गरेँ ।
स्नातक तहपछि नै जागीर खान थालेँ
त्रिविमा १६ रुपियाँ दिनको ज्यालादारीको जागिर
सन्तोष सरले गर्दा पाएको हुँ ।
ज्यालादारीबाट, अस्थायी र स्थायी हुँदै
साढे बाह्र्र वर्ष जागिर खाएर
पेन्सन पाउने भएरमात्र छोडेको हुँ ।

००
पेन्सन आउनुभन्दा पहिलेदेखिनै
म अरू केही राम्रो कमाइ हुने काम
खोजि नै रहेको हुन्थेँ
यही खोजीको क्रममा
१९९२ मा ६ महिना बेलायत
१९९५ मा १३ महिना जर्मनी
र २००० मा पहिलोपटक
र दोस्रो पटक २००२ मा अमेरिका गएँ ।
दोस्रोपटकको अमेरिका बसाइको कमाइले
काठमाडौँमा आएर घर किनेँ
त्यसपछि २००४ मा उतै बस्ने भनेर
म फेरि अमेरिका फर्किएँ
अहिले म अमेरिकी नागरिक हुँ
तर नेपाल, अमेरिका र भारत पालैपालो बस्छु
भारतचाहिँ श्रीमतीका कारणले हो ।
२०४० सालमा आफूखुसी तर
घरको स्वीकृतिमा विवाह गरेको हुँ
त्यसमा सघाउने शलभ, किशोर र नगेन्द्र दाइलाई
भेट्दा अझै त्यो समय ताजा भएर आउँछ ।
२०४१ मा अनुभव र ४३ मा अनुरोध जन्मियो
दुवै छोरा अमेरिकामा नै छन्
राम्रो काम गरेर बसेका छन् ।

००
मैले आजसम्म लेख्ने काम मात्र गरेँ
आठ क्लासमा पढ्दा कविता लेख्थेँ
एसएलसीपछि गीत लेख्न थालेँ
अनि कथा पनि लेख्न थालेँ
तर २०३४ सालमा बल्ल ‘आस्था’ मा छापिएँ
त्यसपछि ३६/३८ सालमा मात्र
रूपरेखा र मधुपर्कमा मैले ठाउँ पाएँ
सुरूमा गोविन्द गिरीका नामले मात्र लेख्थेँ
‘प्रेरणा’ त पछि मात्र भएको हुँ
जसका कारणले गर्दा प्रेरणा भएँ
उसैलाई थाहा छैन त्यसैले नभनौँ होला
लेखनकै कुरा गरौँ-
‘सुतेको समुन्द्र’, ‘अन्तराल’, ‘यात्रा- अनन्त’
‘घोराही शून्य किलोमिटर’, ‘छड्के तिलहरी’ र
‘गन्तव्य गणबहाल’ गरेर छवटा
कथासङ्ग्रह प्रकाशित छन् भने सार्तौ
‘अमेरिकन पासपोर्ट’ प्रकाशोन्मुख छ
‘उत्खनन’, ‘पाखण्ड पर्व’, ‘अन्तिम खाडल’,
‘मात्र एक रात’, ‘लिभिङ टुगेदर’ र ‘विसर्ग’
(परशु प्रधानसँग सहलेखन) वटा उपन्यास छन् ।
त्यसबाहेक धारावाहिक उपन्यासका रूपमा
‘मृगतृष्णा’, ‘दौँतरीको खोजी’, ‘महानगरका सुन्दरीहरू’
र ‘मार्गरेट र पिटर’छापिएका छन् ।
यस्तै कवितासङ्ग्रहहरूमा
‘फूलहरू केही त बोल’, ‘स्वप्न कथा जारी छ’,
‘अचानक एक दिन’, ‘राजमार्गका सुन्दरीहरू’
र ‘दुई दशकका आवाज’ प्रकाशित छन् ।
निबन्ध र नियात्राको कुरा गर्दा
‘पावली बुलु’, ‘प्रजातन्त्रको काफल पाक्यो हजुर !’
‘दुई दशकका चिन्तन’, ‘फेरो’, ‘टिस्टाको किनारैकिनार’,
‘गुडबाई अमेरिका’ प्रकाशित भइसके भने
‘टुप्लुक्क टोकियो’ प्रेसमा छ ।
‘तेलको धूप’ भनेर समालोचना
अनि दुईवटा जापानीबाट अनुवाद गरी
तीसवटा भन्दा बढी पुस्तक छापिएका छन् ।
भर्खरै ‘पारिजात’ को जीवनी लेखेर सिध्याएँ
४०० पेजको यो किताब लेख्न मलाई २० वर्ष लाग्यो
तथापि अझै एउटा बृहत् उपन्यास
लेख्ने खाका तयार गरेर राखेको छु
करिब १५०० पेजको हुन्छ होला ।

००
म पछुतो मान्दिनँ
पछुतो मान्नुको कुनै अर्थ छैन
सकारात्मक र सिर्जनशील
काम गरेकोमा सन्तोष छ
मेरो काम लेख्ने हो
त्यसलाई राम्रो- नराम्रो भन्ने काम पाठकको हो
पुरस्कार दिने वा सम्मान गर्ने अरूले हो
मेरो काम त लेख्नु हो
अब कहाँ बसेर लेख्ने भन्ने कुरा पनि गौण हो
अमेरिका बसेर पाएका कतिपय चीजहरू
छोड्न नमिल्ने छन् र उतै पनि बस्छु
नेपालमा पहिचान छ र यहाँ बस्छु
श्रीमतीले चाहेर वृन्दावन पनि बस्छु
सिमानाले छेक्दैन लेखन ।


राजेन्द्र शलभ
[email protected]