वसन्त वेला

काठमाडौँ ।
प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले पहिलोपटक साङ्गीतिक कोसेली सार्वजनिक गरेकी छिन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रणालीमार्फत सांसद रहेकी उनले जुगौंजुग सँगै जिउने बोलको गीत ल्याएकी हुन् ।
उनको शब्दमा जनकलाकार तथा सङ्गीतकार सुशील सिंह ठकुरीले सङ्गीत दिएका छन् भने जनकलाकार रमण थामीले स्वर दिएका छन् । उनले आफ्नो वैवाहिक वर्षगाँठको सन्दर्भ पारेर उक्त गीत सार्वजनिक गरेको बताएकी छिन् । उनको गीतमा जनयुद्ध कालको स्मरणदेखि जीवनसाथीप्रतिको आस्था र विश्वास देखिन्छ । उनले जातपात भेदभाव उन्मुलनको कुरा देखि सङ्घर्षमै जीवन देख्ने विषयलाई प्रेरणाको रूपमा उल्लेख गरेकी छिन् ।
उनी माझी समुदायबाट पहिलो महिला सांसद पनि हुन् । उनी लमजुङबाट सांसद बनेकी हुन् । उनले जीवनसाथी सन्तोष पौडेलसँगको सहकार्यबाट प्रभावित भएर गीत लेखेको बताएकी छिन् । पौडेल प्रेस सेन्टर नेपालको केन्द्रीय महासचिव छन् । उनको गीत त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई साङ्गीतिक भिडियो बनाएर कभर डिजाइनसहित सार्वजनिक गर्ने काम विशाल राईले गरेका छन् ।