समाचार

ए ! रमा छिटो गर न ! गाडीको वाइन्ड स्क्रिन पुछ्दै रमेश चिच्यायो । नेपथ्यबाट हजुर ! कति कराउनु भएको ! भन्ने आवाज सङ्गै रमा ढोका बन्द गरेर निस्किइन् । भन्ने बितिक्कै हजुर हरु जस्तो फुत्त निस्किन कहाँ पाइन्छ हजुर । कान्छीलाई सबै काम धन्दा अह्राइ सिकाइ गर्नु पर्यो । कम्ती कि काम चोर छ त्यो । ल ल बस ढिलो भैसक्यो
रमेशले गाडी स्टार्ट गर्यो ।
चिकन आइटम चाहिँ यो रेष्टुरेन्टको मान्नै पर्छ । रमाले पतिसङ्ग प्रसन्नता व्यक्त गरिन् । दुबै आज रेस्टुरेन्टमा खाना खाने गरि निस्किएका थिए । ल बाबू ! साह्रै मीठो खाना खुवायौ, फेरि फेरि आउंदा पनि यस्तै खाना खुवाउनु है ! बिल आइपुगे पछि दुई सय रुपैया टिप्स दिंदै रमेशले भने ।
एकछिन यहाँ रोक्नुहोस् त ! तरकारी केही छैन घरमा ।
रमाको आग्रह सङ्गै लोकल तरकारी बजार नेर रमेशले गाडी साइड लगायो । रमा तरकारी किन्न थालिन् । यति सानो मुठा सागको बीस रुपैंया ? रमा कराएको आवाज रमेशको कानमा पर्यो । के गर्नु हजुर ! आफनै बारीको हो । मल बीउ समयमा पाइन्न । सब थोक महंगिएको छ । बुढी आमैले गुनासो गरिन् ।
धेरै लामो कुरा नगर्नोस आमै ! यो सबैको दुई सय राख्नोस रमेशले सब्जीको पोको उठाउंदै भन्यो । जस्ले जति भन्यो उत्ति तिर्नुपर्छ है हजुरलाई रमा पति माथी खनिंदै रमेशको हातबाट तरकारीको पोको खोसिन् र गाडी भएतिर हिडिन् । रमेश दुई सय रुपैयाँ बुढी आमै तिर फ्यांकिदिंदै रमाको पछि लाग्यो । तरकारी साउनी बुढी अकमक्क परिन् ।
ध्रुब प्रसाद घिमिरे ‘दीप’
सुर्यविनायक नगरपालिका- १ विरुवा, भक्तपुर ।