• २०८२ आश्विन ६, सोमबार

आमादब्लमको काखमा लुटुपुटु

ज्ञानेन्द्र विवश

ज्ञानेन्द्र विवश

हिमाली सुगन्धको मगमग वासनामा मोहित हुँदै पाइला उत्साहले लम्किरहेका थिए । पदयात्रीका लर्कोले बाटै ढाकिएको हुन्थ्यो । भारी बोकेका भरिया, झम्पे र चौंरीहरू उत्तिकै भेटिन्थे । यिनलाई उछिनेर अगाडि फड्को मार्न सकिन्नथ्यो । यात्रा एकनाश, एकलाशको अनकन्टारको थियो । तर यो यात्रामा विश्वभरिकै मान्छेको ओइरो । त्यस्तै खानेबस्ने सुविधा सम्पन्न होटल । कुन आकर्षण र कस्तो प्रेरणाले हो वृद्ध विदेशी ज्यानसमेत उकालोको कठिनाइसँग सामना गर्न तयार थिए ।

होटल सकिएपछि बाटो जंगलभित्र पस्यो । कोलाहल मुक्त, हरियालीको सुगन्धले मनलाई शीतल पार्दै थियो । फराकिलो र सहज बाटोको सुरुवातसँगै ठूला रुखहरूको अस्तित्व पातलिँदै हराउन थाल्यो । त्यसपछि पोथ्राका झ्याङसँगको संवाद सुरु भयो । साना पोथ्रा, भुईमै खुम्चिएका बोटहरूको बाटोले मलाई भिन्न संसारमा प्रवेश गराउँदै थिए । ती साना पोथ्रा फरक सुन्दरताले भरिएका थिए । हामी उकालो लाग्दै थियौँ । ती पोथ्राहरूको नजिक पुगेर मैले एउटा झ्याङलाई हातले सुम्सुम्याएँ । ती झ्याङको कोमलता र बलियो संरचनाको अनौठो मेलले मलाई एक किसिमको आत्मीयता अनुभूति गरायो । त्यसमा लेऊझेऊ र सुनाखरीले झुन्डिएर झुत्ती खेलिरहेका थिए ।

यहीबेला एकजना भरिया नजिकै आएर भन्न थाले– ‘हिउँ परेपछि यी पोथ्राहरू हेर्न लायक हुन्छन् । हिउँका सेता डल्लाहरूले यी झ्याङमा सेताम्मे जादूमयी आकृति बनाउँछन् ।’ भरियाको कुरा सुनेर ती हिमाली झ्याङप्रति मेरो झुकाव अझै बढ्यो । मैले चासो राख्दै सोधेँ– ‘भाइ, यी साना बोटहरू धुपी हुन् कि सल्लाका डल्लेबोट ?’ उनले मुस्कुराउँदै भने– ‘यी हुर्किन नसकेका लेकाली धुपी हुन् । कुनै घँघारूका पोथ्रापाथ्री छन् । यिनले कलेजी, रातो र हल्का पहेँलो रङका फूलले पाखै रङ्ग्याउँछन् ।’

उनको उत्तरले मेरो जिज्ञासा त मेटियो । तर ती पोथ्राका बोटहरूप्रति मेरो मन अझ झन् तानियो । ती बोटहरूजस्तै म पनि यहाँको जाडोमा खुम्चिएको भए पनि आन्तरिक शक्ति र सुन्दरताले भरिएको महसुस गर्न थालें । हामी अझ माथि चढ्दै जाँदा, मलाई ती पोथ्राहरूले एउटा कथा सुनाइरहेको भान भयो । ती साना झ्याङहरूले हिमाली वातावरणको कठोरतासँग सामना गर्दै आफ्नो अस्तित्वलाई संरक्षण गर्ने सन्देश दिइरहेका थिए । मानौँ, उनीहरूले भनिरहेका थिए, ‘हामी साना छौँ, तर बलिया छौँ । कठिन परिस्थितिमा पनि जिउन जान्ने सामथ्र्य राख्छौँ ।’

यात्रा अघि बढ्दै थियो । ती पोथ्राहरूको सरल, अनौठो सौन्दर्यले मेरो मनमा गहिरो छाप छोडिसकेको थियो । हिउँ परेपछि ती झ्याङहरूमा बन्ने सेता आकृतिको कल्पना गर्दै मैले सोंचें, कति अचम्मका क्षणहरू हामीले प्रकृतिको गहिराइमा पुगेर मात्र महसुस गर्न सक्छौँ । दूधकोशीमाथिको झोलुङ्गे पुल तर्दै गर्दा मनमा लागेको पहिलो कुरा थियो– यति भव्य सुन्दरतालाई आँखाभरि सजाउन आँखा पनि कम्ती छ भन्ने । पदयात्रीको झन्–झन् घुइँचो बढ्दै गर्दा मेरा पाइला रोकिएका थिएनन् । झन् हिँड्न र हेर्न हत्तारिरहेका थिए ।

झोलुङ्गे पुलपारि पर्खिरहेको थियो हिमाली सौन्दर्यको मुस्कान– आमादब्लम ! आहा, जसको काखमा मेरो यात्रा सुरु भएको थियो । यसरी पुलबाट ओर्लिएपछि अगाडि देखाप¥यो, मानौं आमादब्लमले आफ्ना सेता हाँगाहरू फैलाउँदै मलाई स्वागत गरिरहेको थियो । हिमालको चट्टानी काखमा टाँसिएको हिउँले यो दृश्यलाई काल्पनिक कथा झैँ बनाएको महसुस भयो । हिमाली हावाको चिसोपन । चार हजार मिटर नजिकको यात्रा । घामको किरणले छुन नपाएको उकालो चढ्दा चिसोले नाक रातो भएको त्यो क्षण । मैले पहिलोपटक आमादब्लमलाई अति नजिकबाट नियाल्न पाएँ, त्यो अनुभूति शब्दमा उतार्न कठिन छ । म निःशब्द भएँ । सुन्दरताको सामुन्ने शब्दहरू चुपचाप हुँदारहेछन् ।

आमादब्लमको काखमा लुटुपुटु गर्नु स्वप्निल अनुभूतिको विराट विम्ब ! आमादब्लमको नाम उच्चारण गर्दा नै मातृत्वको स्पर्श अनुभूति हुन्छ । ‘आमा’ जसको काख सधैँ ममतामयी हुन्छ । र, ‘डब्लम’ शेर्पा भाषामा गहना । साँच्चै सगरमाथाको दक्षिणमा उभिएको यो हिमाल आमा जस्तै ‘ममतामयी गहना’ थियो । प्रकृतिको अनुपम सौन्दर्य थियो मेरो आँखाले जब पहिलो चोटि आमादब्लमको हिमचुलीलाई चुम्यो, म एकछिन मौन भएँ । लाग्यो, विशाल आकाशमुनि, नीलो क्यानभासमा कसैले सेतो धर्साले सुन्दरतम् चित्र कोरे झैं लाग्यो ।

सधैंभरि त्यही हिउँमा जमेका चट्टानका बान्की, पहाडलाई आकाश छुन बाध्य बनाउने गरी ठडिएका ती चुचुराहरू र ती सबैको छायाँमा बसेर मुस्काउँदै गरेको प्रकृतिको रङ्गीन चित्रपट । प्यारो आमादब्लमको काख ! हिमाललाई हेर्दा आँखाले देख्नेभन्दा मनले महसुस गर्ने धेरै कुरा हुने रहेछ । कस्तो अचम्म ! यही हिमाल, जसले मलाई तानिरहेको थियो । दशकौँको हिमपात र समयको खेलले यस्तो कलात्मक बनाइएको रहेछ । एउटा उराठ पहाडलाई हिउँले गहना जस्तै सजाइदिँदा, उसको सुन्दरता यस्तो कि हेर्दै मन हर्षले उफ्रन्छ । म त्यही सौन्दर्यको पृष्ठभूमिमा हराइरहेको थिएँ ।

प्रकृतिको क्यानभासमा हिमाली रङहरूको अनौठो संयोजन । यो हिमाली यात्रा आमादब्लमका लागि मात्र थिएन । यो थियो प्रकृतिले निर्माण गरेको एउटा क्यानभास हेर्ने अवसर । जहाँ हिमालको चम्चम, नदीको अविरल प्रवाह र पहाडका हरिया बुट्टा एउटै भूमिमा अटाएका थिए । एउटा कुनाबाट नदी बगेको आवाज आइरहेको थियो । झरनाले चट्टानलाई चुम्दै गरेको आवाज त्यही दृश्यलाई थप जीवन्त बनाइरहेको थियो । बाटोमा यात्रुहरू भेटिन्थे । कोही आफ्नो गन्तव्यतिर त कोही यो सुन्दरताको काखमा रमाउँदै । भारी बोकेका चौपायाहरू चुपचाप आफ्नो बाटो लागिरहेका थिए । उनीहरूको शान्त अनुहारले थाहा पाइन्थ्यो । यसले हिउँ र चट्टानले भरिएको बाटो सजिलै जितेका थिए, तिनलाई कुनै गुनासो हुन सक्दैन ।

यही परिवेशमा, बाटाका छेउछाउमा देखिएका स–साना लज, होटल, रेष्टुरेन्टले थकाइ मार्न हौसला दिने गर्थे । यो यात्रा मेरो लागि एउटा गन्तव्यसम्म पुग्ने यात्रा थिएन । प्रकृतिसँग नजिकै हुने र संवाद गर्ने क्षण थियो । यसले मलाई जीवनका अनेक पाठ सिकाउँदै गयो । सायद जीवन पनि यस्तै हो । साना पोथ्राजस्तै खुम्चिएको जस्तो देखिए पनि भित्रभित्रै शक्तिशाली र सुन्दर । आमादब्लमको मुस्कान र त्यही मुस्कानसँगै काखमा लुटुपुटु गर्दै रमाउनुको आनन्द । मन मान्थ्यो, हिउँजस्तै सफा र उज्यालो । प्रकृतिको यो ममताले भरिपूर्ण गहना सदैव यस्तै रहिरहोस् ।

पदयात्रा र मनको सम्बन्ध निकै गहिरो हुन्छ । प्रकृतिमा गरिने यात्रा गन्तव्य पुग्नका लागि मात्र हुँदैन । यो आत्मा शुद्ध गर्ने माध्यम पनि हो । मेरो यो यात्रा आमादब्लमसम्मको मात्र थिएन । यो थियो– प्रकृतिमा हराउने, प्रकृतिको हरितिमा आफूलाई समाहित गराउने र ती हिमाली मुस्कानहरूसँग मुस्कानभरि खुशी भेट्ने । आमादब्लमलाई हेरौँ, हेरिरहौँ लाग्ने । हेरेर कहिल्यै नअघाइने । आमादब्लमको काखमा लुटुपुटिँदै म प्रकृतिको सौन्दर्यमा हराउन थाल्छु । यात्रा जहाँ सकिए पनि, त्यो यात्राले दिलाएको खुशी र स्मृतिले जिन्दगीभर मनको झोलामा थुप्रै मिठास बाँधेर दिन्छ । आमादब्लमको काखमा बितेका ती पलहरू, दूधकोशीमाथिको त्यो झोलुङ्गे पुल र बाटोमा भेटिएका सौन्दर्यहरूको याद, मेरो मानसपटलमा सदाका लागि बसेर ररिहरहने छ ।


ज्ञानेन्द्र विवश