• २०८१ माघ २७ आइतबार

कथाकार नीला घिमिरेको ‘स्वप्निल बिपनाहरू’ प्रकाशित

काठमाडौँ ।

कथाकार नीला घिमिरेको ‘स्वप्निल बिपनाहरू’ कथासंग्रह बजारमा आएको छ। बलेँसी साहित्य समाज नेपालले पहिलो शृखलाको रूपमा उक्त कृति प्रकाशनमा ल्याएको हो । बलेँसी साहित्य समाज नेपालका संरक्षक एवं संस्थापक केशवप्रसाद पौडेलले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न लुकेका प्रतिभाहरू उजागर गर्ने र कृति प्रकाशन गर्ने क्रममा कथाकार घिमिरेको ‘स्वप्निल बिपनाहरू’ कथासंग्रहबाट प्रकाशनको ढोका खोलेको बताएका छन् ।

कथासंग्रहमा चिन्तामा हजुरबुवा, जुवाइँको सत्कार, वृद्धाको हुँकार, घुँगौरी, खेत र बाढी, एक कित्ता खेत र ब्यानर, अन्योल आँखाहरू, नियति, अपहेलना, गैरवाली, गिटी र सपना, फुलबरिया र संकल्प शीर्षकका तेह्र कथा संगृहीत छन् । डा. शेखरकुमार श्रेष्ठका ‘नीला घिमिरे र स्वप्निल बिपनाहरू’, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल ‘कथाकार नीला घिमिरेको कथाको नीलो आकाश र हरियो धर्ती’ र बलेँसी साहित्य समाज नेपाल अध्यक्ष प्रेमप्रसाद पौडेलको प्रकाशकीयले कृतिलाइ ओजिलो बनाएको छ ।

सरोज बलामीको सुन्दर आवरण र एपेक्स प्रिन्टिङ प्रेस प्रा. लि. मुद्रक रहेको कृतिको मूल्य २ सय रूपैया रहेको छ। यसअघि घिमिरेका अन्य कृति पनि प्रकाशनमा आएको थियो ।