• २०८१ माघ ९ बुधबार

उत्तर आधुनिक युद्ध !

धनराज गिरी

धनराज गिरी

यत्रो अन्याय सहन सकिन्न महाराज, अब युद्धको विकल्प छैन ! बाघ बोल्यो । महाराज शेरको राजसभा जारी छ । गजराजको विचार ! शेर महाराज । म मृगेन्द्रसित सहमत छु सरकार ! ऐरावत उम्कियो । चितुवाले पनि युद्धलाई नै समर्थन गर्यो । स्याल, हुँडार, गिद्ध, बाज, सबै युद्धकै पक्षमा । एक गैंडा मौन, किन ? उसलाई केही पनि थाहा थिएन । दिव्यास्त्रहरू जम्मा गर्नुहोला ! यो आजसम्म नभएको भयङ्कर युद्ध हुनेछ, उत्तर आधुनिक ! महादेव, इन्द्र, देवी भगवती, वनदेवी सबैले सहयोग गर्ने पक्का ! काग बन्धुले कायाकैरनको काम गर्ने । जङ्गलमा जे पनि हुनसक्छ । शत्रुलाई कमजोर मान्नुहुन्न ।

जम्बुमन्त्री बोल्यो । हो त, हामी शेरको पुर्खालाई जाबो एउटा खरायोले मूर्ख बनाएको थियो । भुसुनाले हात्ती रुवाएको कथा त यथार्थ हो । मोर्चामा कुनै कमी हुनुहुन्न । सेनापति पितामह शार्दूल ग्रीष्म हुनुहोला ! शेर महाराजको परमादेश ! नारायण नारायण ! भन्दै नारद आए । बैकुण्ठ र कैलाशको समाचार सुनाए । लम्बोदर पार्वतीनन्दन दुर्वासा भएको कयाकैरन सुनाए । शान्तिदूत बनेर युद्ध रोक्न खोजे ! सकेनन् । बाटो लागे । उत्तर आधुनिक युद्ध ! मोर्चा पुग्यो मैदानमा । अर्को पक्ष, विपक्ष हेर्नलायक थियो ।

उता, अर्को पक्षमा गणेशजीको बाहन आरामसित कस्सिएर खडा । आक्रमण !! आदेश भयो । हावामा आक्रमण ! किन कि मुसो महाराज दुलोमा छिरेर सुरुङ मार्गबाट कैलाश पुगिसकेको थियो । बर्बरिक बोल्यो, यो त मुसाको नैतिक विजय ! जाबो मुसाको विरुद्ध मा यत्रो मोर्चाबन्दी ! लज्जाबोध भएन यी मेघा महाजन्तुहरूलाई ? घटोत्कचले सम्झायो, छोरा, यही हो उत्तर आधुनिक युद्ध हो ।


धनराज गिरी