• २०८१ माघ ९ बुधबार

केदारनाथ श्रेष्ठलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ प्रदान

काठमाडौं ।

सूचक प्रकाशनले क्याप्टेन रतनबहादुर लामिछानेका नाममा स्थापित ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ भोजपुरका शिक्षासेवी तथा समाजसेवी केदारनाथ श्रेष्ठलाई प्रदान गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा. डा. कृष्णहरि बरालले श्रेष्ठलाई नगद राशि ११ हजार रुपैयाँसहित पुरस्कृत गरे ।

उक्त अवसरमा सपना लामिछाने देउजाको कविताकृति ‘जिन्दगी एक यात्रा’को दोस्रो संस्करण पनि सार्वजनिक गरियो । प्रा. डा. बरालले सूचकले ओझेलमा परेका प्रतिभाको खोजी गरी पुरस्कृत गर्दै आएकामा खुसी व्यक्त गरे । केदारनाथ श्रेष्ठबाट आफू प्रभावित भएको उनले उल्लेख गरे । डा. बरालले सपना लामिछोनेको कविताकृतिको पनि चर्चा गरे । उनले सपना लामिछानेका कवितामा मानवतावादी दृष्टिकोण भेटिने बताए ।

साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले कवि लामिछानेका ५६ कविताले जीवनका यावत् पक्षलाई प्रस्तुत गरेको बताए । उनले कविता सरल र भावपूर्ण भएको उल्लेख गरे । गंगा खतिवडा, रुबी सत्याल, मन्दीप सिलवाल, नवीन पल्लव र लक्ष्मी पोख्रेलले कृतिभित्रका कवितावाचन गरे । कार्यक्रममा कवि लामिछाने, पुरस्कृत व्यक्तित्व श्रेष्ठ, दीपक भेटवाल, हरिप्रसाद पाण्डेयलगायत व्यक्तिले बोलेका थिए ।