• २०८२ आश्विन ७, मंगलवार

‘बिपीका साहित्यिक विचारहरु’ पुस्तक विमोचन

लेखक, साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरु’ पुस्तक विमोचन गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका- १५ मा नेपाली कांग्रेस धरान उपमहानगर समितिले आयोजना गरेको ‘गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार वितरण कार्यक्रम’मा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, सो पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायतले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै सभापति देउवाले अग्रज नेता बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताए । उनले विपी कोइराला उच्चकोटीको दर्शन र साहित्य लेखनमा निपूर्ण भएको बउल्लेख गर्दै भने- ‘पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको छ, पुस्तक पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्नेमा मलाई विश्वास छ ।’ कांग्रेस जान्न र बुझ्न खोज्नेका लागि पुस्तक उपयोगी हुने उनको भनाइ थियो ।

कार्यक्रममा गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार विनय प्रधानलाई प्रदान गरियो । सभापति देउवाले पुरस्कृतजनलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरे ।त्यसअवसरमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महत, केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, राजिव कोइराला, धरान उपमहानगरपालिकाको पूर्वनगरप्रमुख तिलक राई, बराहक्षेत्र नगरपालिकाको प्रमुख रमेश कार्की तथा सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।