क्यालिफोर्निया ।
क्यालिफोर्नियामा डिसेम्बर ७ तारिकमा पहिलो पटक हास्यव्यङ्ग्य कविता तथा सांगीतिक कन्सर्टको आयोजना गरिएको छ । सम्पूर्ण सान फ्रान्सिस्को बे एरियाबासी साहित्य, गीत र संगीत अनुरागीहरुको तर्फबाट गीतकार तथा गायक निर्मल फुयालको स्वास्थ्य लाभको कामना गर्दै केहि आर्थिक सहयोग पनि पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका बहुसंख्यक बौद्धिक र सिर्जनशील व्यक्तित्वहरुको उपस्थिति थियो । संसारकै प्रसिद्ध विश्वविद्यालय यु सी बर्कलेकै समिपमा रहेको नर्थ वर्कले सिनियर सेन्टरमा आयोजित उक्त कार्यक्रममा उपस्थित सम्पूर्णले निर्मल फुयालले डायसफोरामा नेपाली गीत, संगीत र साहित्यको विस्तार र प्रवर्धनमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँको शीध्र स्वास्थ्य लाभको कामना गरेका थिए । सबै सहोभागी दर्शकहरुले आफूले सकेको सहयोग पनि पुर्याएका थिए ।
सन् २००८ देखि यु एस एमा बसोबास गर्दै आएका निर्मल फुयाल धेरै नेपाली चलचित्र, सिरियल र नाटकहरुमा हास्य कलाकारको रुपमा अभिनय गर्नु भएका कलाकार विष्णु भक्त फुयालका सुपुत्र हुन् । कलाकार विष्णु भक्त सन् २०१७ सालमा रंगमञ्चमा अभिनय गर्दा गर्दै परमधाम भएका थिए । निर्मल फुयालले आफ्ना पिताको निधनपछि उहाँको सम्झनामा विकल्प फाउन्डेसन् नामक संस्था स्थापना गरेका थिए ।
उक्त संस्थाले बिगतका वर्षहरुमा बे एरियामा धेरै सांगीतिक कार्यक्रमहरु गरेको थियो । त्यस्ता सांगीतिक कार्यक्रमहरुको आयोजना गर्दा लाग्ने सम्पूर्ण खर्च निर्मल फुयाल आफैंले बेहोर्ने गर्थे । अन्य राज्य बाट डायसफोरा नेपाली कलाकारहरुलाई सशुल्क निमन्त्रणा गर्दथे र लागेको सम्पूर्ण खर्च आफैं बेहोर्थे । उनले आयोजना गरेका कार्यक्रमहरुमा सहोभागी दर्शकलाई पनि निशुल्क डिनरको व्यवस्था गरिएको हुन्थ्यो ।
कहिले काहीं उनी अरु बे एरियामा सक्रिय संस्थाहरुसँग मिलेर पनि कार्यक्रम गर्दथे । यशोभानु साहित्य तथा संगीत प्रतिष्ठान तथा समुद्र पारिका मन नामक संस्था सँगको सहकार्यमा उनले धेरै कार्यक्रमहरु गरेका छन् । समुद्र पारीका मन कार्यक्रमका संस्थापक बाबु आचार्यका अनुसार “उनले समुद्र पारिका मन लगायत अरु संस्थाहरुलाई सह आयोजक बनाउने गर्थे तर सह प्रायोजक बन्न चाहिं दिँदैन थिए ।” त्यसो त निर्मल फुयाललाई नजिकबाट चिन्नेहरुले भन्छन् उनी साथीहरुसँग बस्ता चिया, कफी वा खाजाको पैसाआफैं तिर्ने गर्थे । कसैले सहयोग मागेमा गोजी रित्याएर सहयोग गर्न तयार हुन्थे । जुन कुरा अमेरिका जस्तो देशमा बिरलै सुन्न पाइन्छ। हाल निर्मल फुयालको स्वास्थ्य अवस्था निकै नाजुक छ । उनी आँखा देख्न सक्दैनन् र हिँड्न पनि सक्ने अवस्थामा छैनन् ।
तीनै मनका धनी निर्मल फुयालप्रति समर्पित उक्त कन्सर्टको सुभारम्भ श्री लक्ष्मी बैकुण्ठ नाथ मन्दिर, पिटिसबर्गका स्वामी अनन्त आचार्य महाराजले स्वस्ती वाचन गरेर गरेका थिए । कार्यक्रमको माइक होस्टको भूमिका निर्भाह सान फ्रान्सिस्को विश्व विद्यालयका प्राध्यापक डा. टिका लम्साल र लोकप्रिय कार्यक्रम सञ्चालक टिका पुनले गरेका थिए । डा. टिका लम्सालले व्यङ्ग्य कविता तर्फको होस्टिङ् गरेका थिए भने टिका पुनले गीतको होस्टिङ्ं गरेका थिए । त्यस्तै गरी उक्त कार्यक्रममा कवि अमर तमाङ्ले निर्मल फुयालप्रति समर्पित कविता वाचन गरेका थिए । उक्त कवितामा निर्मलको योगदान र व्यक्तित्वको काव्यात्मक विस्तार गरिएको थियो ।
कार्यक्रमकी मुख्य आकर्षण गायिका ममता दिब्बिम थिइन् । उनका कालजयी गीतहरुले कार्यक्रमलाई जिवन्त बनाएको थियो । गीत र संगीततर्फ निता आचार्य, लक्ष्मी खरेल र टलमान गुरुङले आफ्ना प्रस्तुति दिएका थिए ।
त्यस्तै गरी व्यङ्ग्य कविहरु नवराज कार्की, प्रमोद अमात्य, बाबु आचार्य र नारायण भट्टराईले आ-आफ्ना रचनाहरु वाचन गरेर कार्यकर्मलाई हास्यव्यङ्ग्य रसको उर्जाले सिञ्चित गरेका थिए । आफ्ना मधुर र हास्यरस युक्त अभिव्यक्तिद्वारा सबैलाई मन्त्रमुग्बध बनाउने डा. लम्सालका हास्यव्यङ्ग्यात्मक किस्साहरुले कार्यक्रम भरिनै हाँसोको फोहरा छुटाएका थिए ।
हास्यव्यङ्ग्य कविता र संगीतको सम्योजन गरेर प्रस्तुत गरिएको उक्त कार्यक्रमका परिकल्पनाकार नारायण भट्टराई थिए भने सो कार्यक्रमको संयोजन भट्टराई लगायत बाबु आचार्य, टेक खड्का र बालकुमारी धिमिरेले गरेका थिए । कार्यक्रमको अन्त्यमा उपस्थित दर्शकहरुको मत सर्वेक्षण गरिएको थियो । गुगल फर्म मार्फत गरिएको उक्त सर्वेक्षणमा करिव ७० जना दर्शकहरुले आफ्नो फिडब्याक दिएका थिए । उक्त सर्वेक्षणमा मुख्य रुपमा कार्यक्रमको रेटिङ्ग गर्न अनुरोध गरिएको थियो ।
प्राप्त फिडब्याकमा ८० प्रतिशतले कार्यक्रमलाई १० रेटिङ्ग दिएका थिए भने २० प्रतिशत दर्शकले ० रेटिङ्ग दिएका थिए । उक्त मत सर्वेक्षणले कार्यक्रम अत्यन्तै रुचाइएको देखाएको छ । ७० प्रतिशत दर्शकले त्यत्ता कार्यक्रम वर्षको तीन पटक आयोजना गरिए हुन्थ्यो भन्ने मत व्यक्त गरेको सर्बेक्षणले देखाएको छ । उक्त कार्यक्रमको आयोजनामा सम्बद्ध सबै पक्षले निशुल्क रुपमा सहयोग पुर्याएका थिए । म्युजिक सिस्टम अमृतजंग कुवरले निशुल्क प्रदान गरेका थिए भने डिनरको व्यवस्थापन मनिस पौडेलले गरेका थिए । डिनर बिक्रीबाट प्राप्त ५० प्रतिसत रकम निर्मल फुयाललाई नै समर्पित गरिएको थियो ।