• २०८१ माघ ९ बुधबार

पानी नियति !

धनराज गिरी

धनराज गिरी

कैले बरफ, कैले वाफ बन्न विवश पानी !
पानीजस्तै बन्छ अचेल हाम्रो जिन्दगानी !

रङ्गहीन पानीलाई नीलो भन्छ मान्छे !
बनाउने प्रदुषित गरी बेइमानी !!

हिमालमा बस्छ पानी हुन्छ पहाडमा !
झरना नदी ताल सागर सारा पानीखानी !

हुन्छ आगो पानीभित्र कोइला बन्छ बरफ !
कोही छैन दुनियाँमा पानीभन्दा दानी !

पीयूष पानी स्वच्छ रहे उस्तै मान्छे पनि !
नैतिकवान असल योग्य मान्छे नैनानानी !

शीतल समीर बन्छ वायु छोई पानीलाई !
खडेरीमा वरदान बन्ने मेघरानी !!

नहर कुलो सारा पानी हरियाली ल्याउने !
सदुपयोग पानी भए मिल्छ कुराकानी !!

नजिस्क्याऊ पानीलाई, सोझा मान्छेलाई !
भेल बाढी काल बन्छ बदलिन्छ बानी !

वाग्मती र बिष्णुमती रोए नेपालमा !
लज्जाबोध गर्छ कैले हाम्रो राजधानी !! ?


धनराज गिरी