• २०८१ मंसिर २९ शनिवार

शिवप्रसाद पाण्डेको कथाकृति ‘प्रच्छन्न इन्द्रिय’ बजारमा

लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा विमोचन भएको छ । पुस्तक समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक शिवप्रसाद पाण्डेले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । पुस्तकमा लेखकले आफ्नो समय र अनुभव अनुसारको समाज कथ्य रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको बताउनुभयो ।

साहित्यकार डा. रवीन्द्र समीरले ६८ वर्षको उमेरमा पहिलो कथासंग्रह निकालेर लेखकले सबैलाई प्रेरणा दिएको बताउँदै हरेक कथामा लेखकले आफुले सुनेको, देखेको, भोगेको तथा अध्ययन गरेको विषयलाई जनजीब्रोको भाषामा लेखेको भन्नुभयो । समीक्षक ज्ञानु अधिकारीले शिवप्रसाद पाण्डेका कथामा अर्गानिक स्वाद रहेको तथा व्यंगात्मक चेत उत्कृष्ट रहेको बताउनु भयो ।

सिस्नुपानी नेपालका अध्यक्ष तथा व्यंग लेखक लक्ष्मण गाम्नागे, योगगुरु दिग्विजय आनन्दले पनि बोल्नुभएको उक्त कार्यक्रमको सभापतित्व जेष्ठ नागरिक समाजका केन्द्रिय अध्यक्ष चिरन्जीवी कंडेलले गर्नुभएको थियो ।प्रच्छन्न इन्द्रिय मन्जरी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकको मुल्य रु ३७५ रहेको छ ।