काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा कवि ऋषि बस्ताकोटीको कवितासंग्रह ‘पानीको रङ’ लोकार्पण गरिएको छ । कुलपति भूपाल राईको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति राईलगायत प्राज्ञ बाबा बस्नेत, कवि फूलमान बल, शिखा बुक्सका निर्देशक पुष्पराज पौडेललगायतले पुस्तक लोकार्पण गरेका थिए । प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताएका छन् । आज यहाँ साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए ।
साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताए । “म आफैँ पर्यावरणसम्बन्धी पेसामा आबद्ध भए पनि मेरो परिवारको सहयोग र साथीभाइको हौसलाले यो सङ्ग्रह निकाल्न सकेको हुँ । मैले विभिन्न समय र कालखण्डमा लेखिएका कवितालाई अबचाहिँ पुस्तकको स्वरूप दिनुपर्छ भन्ने लागेर सङ्ग्रह निकालेको हुँ । यसले मलाई कविको रूपमा अगाडि बढाउन मद्दत गर्छ भन्ने विश्वास छ”, उनले भने ।
शिख बुक्सले बजारमा ल्याएको ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गरेका थिए । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा. कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिएका थिए ।