• २०८१ कातिर्क २१ बुधबार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीमा कविता प्रतियोगितामा प्रथम सुस्मिता ढकाल

आनन्दआश्रम ।

आँधीखोला ६ फापरथुम‚ स्याङ्जाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती समारोह कविता प्रतियोगिताका साथ सम्पन्न गरेको छ । माध्यमिक विद्यालयका विद्यार्थीहरूका बीचमा सम्पन्न उक्त प्रतियोगितामा शुक्ला गण्डकी साहित्य संगम तनहूँका संरक्षक तथा वरिष्ठ साहित्यकार शेषमणि आचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो भने आयोजक संस्था ‘आनन्द आश्रम ज्ञान केन्द्र’का उपाध्यक्ष दिप्तिनारायण शर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।

कविता प्रतियोगितामा मूल्याङ्कनकर्ता प्रमुख अतिथि शेषमणि आचार्य‚ अतिथि रामराज रेग्मी र अतिथि हिमलाल पुरीको रहनुभएको थियो । प्रतियोगितामा रजस्थल माविकी सुस्मिता ढकाल प्रथम‚ प्रद्युम्न पनेरु माध्यमिक विद्यालयका शिखा सुनार द्वितीय‚ शारदा मन्दिर माध्यमिक विद्यालय टिकाजाका रोशनी ढकाल तृतीय र काजीमान हरिटिका माध्यमिक विद्यालयका प्रोमिस ढकाल चतुर्थ (सान्त्वना) हुनुभएको थियो ।

पुरस्कृत विद्यार्थी कविहरूलाई पुरस्कारका साथ प्रमाणपत्र उपलब्ध गराइएको थियो । पुरस्कारमा प्रथम हुनेलाई रु ५०००/–‚ द्वितीयलाई रु ४०००/–‚ तृतीयलाई रु ३०००/– र चतुर्थलाई (सान्त्वना स्वरूप) रु १०००/–प्राप्त भएको थियो भने सहभागीहरू प्रत्येकलाई रु ५००/– प्रदान गरिएको थियो । प्रतियोगितामा जम्मा १३ विद्यार्थी सहभागी हुनुहुन्थ्यो ।

प्रतियोगी कविताका बीचबीचमा अप्रतियोगी कविताका साथ शुभकामना मन्तव्यहरू प्रस्तुत भएका थिए । कविता वाचन गर्नेमा कवि चिन्तुगिरी‚ कवि रिता शर्मा‚ कवि तथा गजलकार कृष्ण खड्का आदि हुनुहुन्थ्यो । त्यस्तै, शुभकामना मन्तव्य दिनुहुनेमा त्रिलोचन ढकाल‚ टिकाराम ढकाल काका‚ रामराज रेग्मी आदि हुनुहुन्थ्यो ।