दार्जिलिङका साहित्यकार हरेन आलेको निधन भएको छ । स्थानीय इडेन अस्पतालमा पेटको उपचारको क्रममा उहाँको निधन भएको हो । सन् १९४२ नोभेम्बर २२ का दिन फुवागढी चिया कमान, मिरिक दार्जिलिङमा जन्मिनुभएका आलेको खास नाम हरेन्द्र विक्रम हो । “यसवेला को आयो ?” कविताको प्रकाशनबाट साहित्यिक यात्रा शुरू गर्नुभएका आलेको कविता, नाटक, समीक्षा लगायतका विधामा कलम चलेको छ ।
उहाँका नाटक “प्रतिबिम्ब”, कवितासङ्ग्रह “बैंसहरू” र “अजम्बरी सबै र हृदयको फूल” तथा समीक्षात्मक लेखहरूको सङ्ग्रह “सिर्जनाको वरिपरि” लगायत कृतिहरू प्रकाशित छन् । उहाँले तेस्रो परिक्रमा, मनन, नवआधुनिक कविता लगायतका सङ्कलन र पत्रिका सम्पादन समेत गर्नुभएको थियो । उहाँ नेशनल बुक ट्रष्टबाट पुरस्कृत हुनुभएको थियो भने डा. लक्ष्मीनारायण दुबे सम्मान समेत प्राप्त गर्नुभएको थियो ।